सुरज श्रेष्ठ
पोखरा रंगशालामा जारी २४ औ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा ब्ल्याक बुल्स उज्वेकिस्तान विजयी भएको छ ।
उज्वेकिस्तानले थन्डर नर्थ युनाईटेड भारतलाई ३–० गोल अन्तरले पराजित गर्यो । खेलको ३८ औं मिनेटमा इस्लोम्जन अब्दुकोडिरोभले ओपनिङ गोल गरेका थिए ।
७३ औं मिनेटमा सयदज्मोल र ७५ औं मिनेटमा शाब्कात्जोनले गोल गरे । आजको खेलमा ब्ल्याक बुल्सका एलिजोन एलिजोनभ म्यान अफ दि म्याच घोषित भए ।
जितसंगै ब्ल्याक बुल्स सेमिफाइनलमा प्रवेश गरेको छ । ब्ल्याक बुल्सले बिहिबार थ्रीस्टार संग भिड्ने छ । भोलि पहिलो सेमिफाइनल नेपाल पुलिस र चर्च ब्वाइज बीच हुनेछ ।
आज उज्वेकिस्तानले प्रतियोगिता भरकै आहा भन्ने खालको खेल खेलेर दर्शकको मन जितेको छ । राम्रो खेलको प्रतिक्षामा बसेका पोखरेली दर्शकले आज भने आहा भन्ने खालको खेल हेर्न पाए ।
साहारा क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप मोफसलकै एक प्रतिष्ठत फुटबल प्रतियोगिता मानिन्छ । विषम परिस्थितीहरुमा पनि प्रतियोगिता गरेर फुटबल प्रतियोगितालाई निरन्तरता दिएको आयोजकले २३ औं संस्करणको प्रतियोगितामा १६ लाख घाटा व्यहोरेको थियो ।
वर्षेनी फुटबल प्रतियोगता आयोजना गरेर मुनाफा भएको रकमले एकेडमी संचालन गर्दै आईरहेको छ । यस्तै घाटा बेहोर्दै जाने हो भने प्रतियोगिता बन्द हुने स्थिति हुन सक्छ ।
क्वाटरफाइनल सकिँदासम्म टिकट ब्रिकी निरासाजनक छ । कुनैबखत एकैदिन २१ लाख सम्म टिकट ब्रिकी गरेको आयोजक २४ औं संस्करणको प्रतियोगिताको क्वाटरफाइनल खेलहरु सकिदाँ सम्म जम्मा ५ लाख ७१ हजार ४ सय ३० को टिकट ब्रिकी भएको छ ।
पहिलो दिन ७२ हजार,दोस्रो दिन ५२ हजार ८ सय ८०,तेस्रोदिन ५७ हजार ७ सय,चौथोदिन ५० हजार, पाँचौ दिन १ लाख २० हजार ५ सय ५०, छैठौ दिन ८० हजार ८ सय र सातौदिन ७२ हजार ३ सय रुपैयाँको टिकट ब्रिकी भएको सहारा क्लब पोखराका कोषाध्यक्ष बिनु रानाले जानकारी दिईन् ।