दिपक के श्रेष्ठ
आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले कास्कीको सिक्लेसमा केवल कार निर्माण गर्ने भएका छन् ।
ढकाललको ‘सिक्लेल केवल कार’ कम्पनीले अनुमानित ७ अर्ब रुपैयाँ लगानीमा निर्माण सुरु गर्न लागेको हो । केवल कारको तल्लो स्टेसन कास्कीको मादी गाउँपालिका वडा नं १ र माथिल्लो स्टेसन सोही गाउँपालिकाको वडा नं २ मा रहने भएको छ ।
तल्लो स्टेसन सिक्लेस गाउँको प्वरयुम भन्ने स्थानमा रहने भएको छ । माथिल्लो स्टेसन सिक्लेसको कोरी डाँडामा रहनेछ । केवलकार ६.४१ किलोमिटर लामो रहने समेत परियोजनाले जनाएको छ ।
आयोजना क्षेत्रबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्मको दूरी ३० किलोमिटरको दूरीमा रहने छ । पोखराबाट प्रस्तावित तल्लो स्टेसनसम्म कच्ची बाटोको पहुँच रहेको छ ।
आयोजनाका लागि कुल ३ हजार ८०१ वटा रुख र पोल काट्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
यसरी काटिने रुखमा गुरास, कलिकाठ, लोकफ, खस्रु, फलाट, झ्यानो, वन चुलेत्रो, फिरफिरे, चाँप, उत्तिससहितका रहेका छन् । काटिएका रुखको सट्टामा आयोजनाले कानूनले तोकेको संख्यामा वृक्षारोपण गर्नुपर्छ ।
केवलकारमा नेपालमा अहिले सञ्चालित केवलकार भन्दा फरक बीचमा समेत स्टेसन रहने भएको छ । जहाँ यात्रु झर्न र चढ्न पनि सक्ने भएका छन् । तल्लो र माथिल्लो स्टेसनको बीचमा मादी गाउँपालिका वडा नं २ को धर्मशाला नजिकै बीचको स्टेसन रहने भएको छ ।
यहाँ मानिसहरु झर्न र चढ्न सक्ने भएका छन् । यो दुबै स्टेसनको बीच भागमा रहने समेत प्रतिवेदनमा उल्लेख छ ।
केवलकारमा कुल ६० वटा बक्स (गोण्डुला) रहने गरी परियोजनाको डिजाइन गरिएको छ । एउटा बक्समा ८ जनाले एक पटकमा यात्रा गर्न सक्ने छन् ।
प्रतिदिन ६ हजार जना (अधिकतम)ले यात्रा गर्न सक्ने क्षमताको केवलकार बन्ने समेत कम्पनीको भनाइ छ । केवलकारमा कुल ३० वटा टावर रहने भएका छन् ।
निर्माण पक्षले केवल कार बनाउने जानकारी गराएपनि वातावरण, आय, स्थानीयको सहभागिता र रोजगार विषयमा भने कुनै छलफल नभएको मादी १ का वडाध्यक्ष देवीजंग गुरुङले बताए ।
केवल कारका फाइदा र बेफाइदा दुबै भएको बताउँदै वडाध्यक्ष गुरुङले स्थानीय सहभागितासँगै वातावरण संरक्षणको मुद्दालाई वडा र पालिकाले प्राथमिकता दिएको उल्लेख गरे ।
‘केवल कारको स्टेशन र रोलिङ क्षेत्रमा घना जंगल छ, जहाँ चराचुरुंगी र वन्यजन्तु दुबै छन्’ गुरुङले भने ‘हामी उनीहरुको वासस्थान उजाडिएको हेर्न सक्दैनौं ।’ त्यस्तै, वडा १ र २ मा वातावरण खल्बलिए त्यसको असर पुरै सिक्लेसमा पर्ने उनको भनाई छ ।
स्थानीयलाइ के लाभ हुने भन्ने विषयमा कम्पनीले हालसम्म जानकारी नगराएको भन्दै उनले केवलकार नभए पनि सिक्लेलमा पर्यटकको कमी नभएको जनाए । ‘दैनिक ६ हजारसम्म पर्यटक वा यात्रुलाई सेवा दिने भनिएको छ, उनीहरुसँगै फोहोर र प्रदुषण पनि आउँछ’ उनले भने ।
करिबभ ३८ सय रुख मासिने भएपनि उनले त्यसको वातावरणीय प्रभावबारे पनि सिक्लेसवासी चिन्तित भएको उनको भनाई छ । ‘हुर्किको रुख काटेर बिरुवा रोप्दा कहिले हुर्केलान्, पशुपंक्षी र जनावर कहिले फर्केलान्’ उनले चिन्ता व्यक्त गरे ।
केवलकार निर्माण सुरु हुनु अगावै गाउँपालिकामा यस विषयमा छलफल हुने र त्यसको निर्णयअनुरुप निर्माण पक्षसँग बैठक बस्ने बताउँदै उनले सिक्लेसको मौलिकतालाई नष्ट गर्न नपाइने बताए ।
‘निर्माण पक्षले हामीसँग छलफल गरेर मात्र निर्माण अघि बढाओस्’ गुरुङ भन्छन् ‘हामी सिक्लेस दोस्रो पाथिभरा होस् भन्ने चाहन्नौं ।’
०७९ सालको मंसिरमा तयार पारिएको परियोजना साढे ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्मरणीय छ, उनै ढकालको पाथिभर केवल कार परियोजना भने अहिले स्थानीयको विरोधकाकारण अघि बढ्न सकेको छैन ।
चन्द्रागिरि केवल कारका मालिकसमेत रहेका ढकालको लुम्बिनी केवल कार, मौलाकाली केवल कार र जाल्पादेवि केवल कार परियोजना तयारी अवस्थामा छन् ।