दिपक के श्रेष्ठ
पोखरा महानगरका नगर क्षेत्रमा विगत ४ दिनदेखि सडकमै असरल्ल फोहोर थुप्रिएका छन् । महानगरको कार्यालय वरपरका फोहोर उठाईपनि त्यसबाहेकका क्षेत्रमा फोहोरका डंगुर देख्न सकिन्छ ।
महानगरका मेयरले चुनावताका फोहोर व्यवस्थित गर्ने नारालाई प्रमुखताकासाथ प्रचार गरेपनि समस्या समाधान हुन सकेको छैन । पोखरा ३२ को लामेआहालमा अस्थायी ल्याण्डफिल्डको प्रयोग गरिएपनि पुनः अवरोध भएको छ ।
यसअघि ६–६ महिनाको समय थप्दै लामेआहालमा फोहोर व्यवस्थापन गरिएपनि १८ महिनाको समय कटेपछि स्थानीयले फोहोर फाल्न नदिएपछि पोखराका सडकको दूर्गति भएको छ ।
महानगरले पटपटक समय थप्दै जाने तर सम्झौता कार्यान्वयन नगरेपछि स्थानीय नै विरोधमा उत्रिएको वडाध्यक्ष अक्कलबहादुर कार्की बताउँछन् । ‘अघिल्लो पटक थपिएको समयमा फोहोर पुर्ने काम भएन’ अध्यक्ष कार्की भन्छन् ‘त्यसपछि फोहोर प्रशोधन गर्ने कुरा भएको हो, तर महानगरले चासो दिएन ।’
यतिबेला वडा कार्यालयमा ६ राजनीतिक दलका प्रतिनिधि, तीनवटा टोल विकास संस्था र वडाका प्रतिनिधिबीच बैठक बसिरहेको छ ।
बैठकको निर्णयपछि दिउँसो २ बजे महानगरमा छलफल हुने वडाध्यक्ष कार्कीले बताए । ‘हामी निर्णयमा पुगेर दिउँसो महानगर जानेछौं’ कार्कीले भने ।
महानगरको निर्वाचनताका धनराज आचार्यले ६ महिनाभित्र वेस्टबैंक प्रणालीमार्फत फोहोर किन्ने, १४ महिनाभित्र फोहोर व्यवस्थापनको स्थायी समाधान गर्नेलगायतका नारालाई प्रमुखता दिएका थिए ।
मेयर भएपछि आचार्यले ल्याण्डफिल्डकालागि जग्गा किन्ने र फोहोर व्यवस्थापको साइटमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने जुन पर्यटकीय आकर्षणसमेत बन्ने बताएका थिए ।
यसअघि फोहोरमैला प्रशोधन तथा जग्गा व्यवस्थापन शीर्षकमा महानगरले वडाध्यक्षको खातामा ५५ लाख रुपैयाँ ट्रान्सफर गरिदिएर आलोचित भएका थिए । पछि उक्त रकम महानगरकै खातामा ल्याइएको थियो ।