दिपक के श्रेष्ठ
बालयोगेश्वर भनि चिनिने धर्मगुरु विजय कृष्णमुर्तिले पोखरामा कोटीहोम यज्ञ गरेरै छाड्ने अभिव्यक्ति दिएका छन् ।
कोटीहोम र बर पिपलका रुख कटानपछि विवाद र चर्चामा आएको कोटीहोम यज्ञबारे पत्रकारसँग भेटेका विजयले पोखरामा कुनैपनि हालतमा कोटीहोम गर्ने बताए ।
‘बालयोगेश्वर विजय कृष्णमुर्ति तपाइहरुको पोखरामा छु’ पत्रकारसमक्ष उनले भने ‘अब कोटीहोम नगरी यहाँबाट कुनै हालतमा पनि फर्किन्न ।’ केही आक्रोशित मु्द्रामा उनले थपेका छन् ‘म धर्मको रक्षाकालागि अधर्म गर्न पनि तयार छु ।’
‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’बारे जानकारी दिने क्रममा उनले पोखरामा निर्धारित समयमै महायज्ञ हुने बताउँदै उनले धर्म जोगाउन पनि कोटीहोम आवश्यक भएको प्रतिक्रिया दिए ।
उनको मानवसेवा फाउण्डेशनले पोखराको क्याम्पिङ् चोकमा कोटीहोम यज्ञ गर्न स्वीकृति लिइसकेको र भाडावापत रकम बुझाउनुकासाथै उक्त रकमको करसमेत तिरिसकेको प्रमाणसमेत देखाइएको छ ।
कोटीहोम आयोजना गर्न नेपाल ट्रष्टले वैशाख १ गतेदेखि जेठ १५ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटीहोमकालागि जग्गा उपलब्ध गराएपछि फाउण्डेशनले भाडास्वरुप ११ लाख ५९ हजार रुपैयाँ बुझाइसकेको छ ।
तर महानगरका मेयर धनराज आचार्यले ‘४ महिना लामो कोटीहोम गर्न कुनैपनि हालतमा नदिने’ भनेकोमा उनको आपत्ति छ । उनले भने ‘वैशाख १ गतेदेखि जेठ १५ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटीहोम हुनेछ ।’