दिपक के श्रेष्ठ
नेपाली कांग्रेस, गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्माले नेकपा (एकीकृत समाजवादी)का शीर्षस्थ नेताहरुलाई नयाँ पार्टी जन्माउन सजिलो भएपनि बनाउन गाह्रो हुने बताएका छन् ।
नेकपा एसको आजबाट सुरु भएको गण्डकी प्रदेश अधिवेशनमा अतिथिकारुपमा निम्त्याइएका कांग्रेस अध्यक्षले शुभकामना मन्तव्य राख्ने क्रममा पार्टीले जनताको विश्वास जित्न अपरिहार्य भएको उल्लेख गर्दै पार्टी खोलेजस्तो सञ्चालन गर्न सहज नहुने बताएका हुन् ।
‘पार्टी जन्माएपछि बनाउन धेरै गाह्रो छ’ शर्माले भने ‘म बन्छु भन्दा पार्टी बन्न सक्दैन, समाजवादमा नेताको हैन जनताकोे सर्वाेच्चता हुन्छ ।’
सोही क्रममा शर्माले राजाविरुद्ध आन्दोलन सुरु गर्दा एसका अध्यक्ष एवं नेकपा एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाल पोखरा आएर आन्दोलनमा उर्जा भरेको स्मरणसमेत गरे ।
अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले एसलाई सशक्त बनाउँदै समाजवादतर्फ उन्मुख गराउने उनले विश्वास व्यक्त गरे ।
अधिवेशनमा पार्टीका अध्यक्ष नेपालसँगै शीर्ष नेता झलनाथ खनाललगायको सहभागिता छ ।
आइतबारसम्म चल्ने अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र ३ सहसचिव रहेको पदाधिकारीसहित भूगोल र विभिन्न क्षेत्रको सहभागिता रहेको १ सय ४३ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।