नयाँलिपिः पञ्चायतकालीन संरचनामा स्थापना भएको नदीपुरस्थित प्रशिक्षण केन्द्रकाे भवन गणतान्त्रिक व्यवस्थाअन्तरगत गण्डकी प्रदेश सभा चलाएको ७ बर्ष पुरा भएपछि अब ‘साँघुरो’ भएको छ ।
सभा र अधिवेशनका दौरान असहज भएपछि प्रदेशले अबको ३ वर्षपछि फराकिलो संरचनामा कार्यसञ्चालन गर्न आफ्नै भवन निर्माणमा जुटेको छ । भवन निर्माणार्थ यही माघ १८ गते श्रेष्ठ एन्ड सन इस्टवेस्ट जेभीले प्रदेश सभा भवन बनाउने ठेक्का पाइसकेको छ ।
जेभीले ३५ वटा निर्माण कम्पनीसँग प्रतिष्पर्धा गरी २५ करोड ३७ लाख ८२ हजार ८६० रुपैयाँमा ठेक्का पाएको हो । जसले आगामी ३ वर्षभित्र प्रदेश सभाहल निर्माण गरिसक्नु पर्नेछ ।
हालकै स्थानमा प्रदेश सभालाई ६५ रोपनी छुट्याइएको र सोही जमिनमा प्रदेश सभाको नयाँ भवन निर्माण हुने सहरी विकास तथा भवन कार्यालय कास्कीले जानकारी दिएको छ ।
बन्न लागेको संसद भवनको डिजाइन स्केल आर्किटेक्ट कम्पनीले तयार पारेको हो । भवनको भुइँतलामा सभामुख, उपसभामुख, प्रदेशसभा सचिवालय, विषयगत समितिका सभापति र समितिका कार्यालय रहने छन् ।
पहिलो तलामा करिब १ सय जना अट्ने क्षमता भएको हलकाे दोस्रो तलामा पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि प्रदेशसभा बैठक अवलोकन गर्न मिल्ने स्थान बनाइने बताइएकाे छ ।