नयाँलिपिः नेपाल सरकारका गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले सरकारलाई स्थायित्व दिनका लागि ठूला दुई दल मिल्नुपरेको बताउनुभएको छ ।
मुलुकको राजनीतिलाई स्थायित्व, एमाले कांग्रेसको सहकार्यका बारेमा बोल्दै उहाँले भन्नुभयो, ‘‘मुलुकमा देखिएको राजनीतिक अस्थिरता र यसले निम्त्याएका समस्या समाधानका लागि एमालेसँग मिलेर गठबन्धनको सरकार बनाएका हौँ । प्रतिस्पर्धासँगै सहकार्य दुवै जटिल भए पनि हामीहरुले व्यवस्थित रुपमा अगाडि बढाएका छौं ।’’
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा ७७ जिल्लाका कांग्रेस जिल्ला सभापति तथा प्रशिक्षण विभाग प्रमुख सहभागी कार्यक्रममा लेखकले हालसम्म सरकारको नेतृत्व गरिरहेको एमालेसँग कुनै पनि असन्तुष्टि नरहेको जिकिर गर्नुभयो ।
पछिल्ला अध्यादेशले उद्योगी र व्यवसायीसमेत उत्साहित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘स्थायित्व, विकास, आर्थिक समृद्धि र शान्तिका लागि सत्तागठबन्धन गरिएको र यो सन्देश लिएर गाउँगाउँ जानुपर्छ ।’’
पार्टी महामन्त्री गगनकुमार थापाले पार्टीको कार्यक्रममा सबैलाई आमन्त्रित गरिएको बताउनुभयो । उहाँले प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सहज रुपमा लिन आग्रह गर्नुभयो । प्रशिक्षण उपब्धिमूलक भएको उहाँले बताउनुभयो ।
कांग्रेस कास्कीका उपसभापति एवं जिल्लाका प्रशिक्षण विभाग प्रमुख युवराज कुँवरले प्रशिक्षणले संगठनलाई बलियो बनाएको प्रतिक्रिया दिनुभयो । भ्रातृसंगठनका अधिवेशन समयमै नहुँदा गुटको सिर्जना भएकाले चाँडै अधिवेशन गर्न उहाँले मागसमेत गर्नुभयो ।
यसैबीच, कांग्रेसले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ तयार गरेको छ । जनप्रतिनिधि भ्रष्टाचार र अनियमिततामा संलग्न भएको आरोप लाग्दै गएपछि सरकारमा रहेको पार्टी नेपाली कांग्रेसका तर्फबाट तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन थप प्रभावकारी बनाउन यो निर्देशिका बनाइएको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो ।
महामन्त्री शर्माले निर्देशिकाले जनप्रतिनिधिलाई आमनागरिकको भावना सम्बोधन गर्दै तोकिएको जिम्मेवारी सम्पादनमा सघाउने बताउनुभयो ।