भ्रमको खेतीमा मेयरः कोटीहोम गर्न वडादेखि मन्त्रालयसम्मको स्वीकृति, ११ लाख भाडा पनि बुझिसक्यो

santan ads

दिपक के श्रेष्ठ
मानवसेवा फाउण्डेशनले पोखराको क्याम्पिङ् चोकमा कोटीहोम यज्ञ गर्न स्वीकृति लिइसकेको र भाडावापत रकम बुझाउनुकासाथै उक्त रकमको करसमेत तिरिसकेको पाइएको छ ।

कोटीहोम आयोजना गर्न फाउण्डेशनले गत मंसिरमा महानगरका मेयर धनराज आचार्यसँग कुरा गरेको र मेयर आचार्यले शान्ति सद्भावलाई ध्यानमा राखेर आयोजना गर्न सकिने बताएका थिए ।

मेयर आचार्यले उक्त स्थान नेपाल ट्रष्टको स्वामित्वमा पर्ने भन्दै वडा नम्बर ६ सँग संयोजन गर्न भनेका थिए । मेयरले भने मुताविक फाउण्डेशनले ट्रष्ट र वडा नम्बर ६ का अध्यक्ष विष्णु भट्टराईसँग कुरा गरेपछि कोटीहोम गर्न स्वीकृति दिने बताएका थिए ।

त्यसपश्चात् कोटीहोम आयोजनार्थ तयारी थालेको फाउण्डेशनका जनसम्पर्क अधिकृत विजय केसीले बताए । माघ महिनामा कोटीहोम आयोजना गर्ने योजनाा रहेपनि यस महिना पोखराकै पुम्दी र सराङकोटमा महायज्ञ हुने भएकाले वैशाखमा सारिएको हो ।

फाउण्डेशनलाई प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको मातहतमा रहेको पर्यटन, उद्योग, वाणिज्य तथा उपभेक्ता हित संरक्षण निर्देशनालयले मंसिर ६ गते जग्गा उपलब्ध गराइएको शीर्षकमा स्वीकृति दिएको छ ।

निर्देशक इश्वरीप्रसाद रेग्मीको हस्ताक्षर रहेको पत्रमा उद्योग तथा पर्यटन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका र वडा नम्बर ६ लाई बोधार्थ पठाइएको छ ।

ट्रष्टले वैशाख १ गतेदेखि जेठ १५ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटीहोमकालागि जग्गा उपलब्ध गराएपछि फाउण्डेशनले भाडास्वरुप ११ लाख ५९ हजार रुपैयाँ बुझाइसकेको छ ।

ट्रष्टलाई चेकमार्फत मंसिर ६ र पुस २५ गते चेकमार्फत भाडास्वरुप रकम बुझाइएको हो ।

यसैगरी, ट्रष्टले पुस २५ गते फाउण्डेशनलाई आफ्नो स्वामित्वको ४८ रोपनी जमिन कोटीहोम सञ्चालन गर्न १५ दिन दिएको सहमति गरेको छ ।

उक्त स्थानमा पूर्व तयारीस्वरुप चैत १ गतेदेखि अस्थायी संरचना निर्माण गर्न निर्देशनालयले स्वीकृति दिइसकेको छ ।

त्यस्तै, वडा कार्यालयले पुस ९ गते पत्र काटेर फाउण्डेशनलाई कोटीहोम गर्न अनुमति दिएको छ । त्यसपछि उक्त रकमको करवापत फाउण्डेशनले पुस १९ गते ३३ हजार ८७६ रुपैयाँ वडा नम्बर ६ को कार्यालयलाई बुझाएको छ ।

त्यस समय वडाध्यक्ष भट्टराईले पवित्रा थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

कोटीहोम आयोजनाका दौरान आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई मंसिर ९ गते नै पत्र पठाइसकेको छ ।

मेयर आचार्यले भने आज बिहान पोखरामा ४ महिना लामो कोटीहोम आयोजना नहुने र स्थानीय निकायले स्वीकृति पनि नदिएको झुठो सूचना दिएका छन् । आचार्यले भनेका छन् ‘पोखरामा कोटीहोम हुँदैन, झन् ४ महिना लामो कोटीहोम हुनै सक्दैन, कसैले स्वीकृति पनि दिएको छैन ।’

महानगरको प्रोपोगण्डाः आफैलेसमेत थुपारेको काठ दाउरा उठाउन रमिता !
पोखरा महानगर आज बिहान नेपाल ट्रष्टमा राखिएका बरपिपलका काठ दाउरा उठाउन दलबलसहित त्यस क्षेत्रमा पुग्यो । त्यहाँ राखिएका काठ दाउरा वडा १३ र १४ बाट कटान गरिएका थिए ।

बरपिपल ठुट्याएर दाउरा संकलन गरेपछि सामाजिक सञ्जालमार्फत फाउण्डेशन र महानगरको तीब्र आलोचना भयो ।

फाउण्डेशनले ‘स्वीकृति नलिई काटेको’ भन्ने खबर आएपछि १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले ‘थाहै नदिई’ कटान गरेको सम्म भन्न भ्याए । तर उक्त कटानकालागि टोल विकास संस्थाले वडालाई जानकारी र समन्वय गरेको पाइएको छ ।

हाँगाबिँगा काट्ने नाममा पुरै ठूटो बनाएपछि स्थानीय पदाधिकारीहरु भने आफु पानीमाथिको ओभाने बन्न खोजिरहेका छन् । ‘टोल विकास र वडालाई थाहा छ’ फाउण्डेशनका एक सदस्य भन्छन् ‘काट्नेले पुरै छिमलेपछि फरक आलोचना भएको छ ।’

‘काट्नेले पुरै ठुट्याइदिएपछि विरुप भएको देख्यौं, यसमा भने हाम्रो गल्ती भएको छ, आम पोखरेलीसमक्ष माफी चाहन्छौ’ उनले भनेका छन् ।

महानगरले आज ट्रष्टबाट उठाएको दाउरा फाउण्डेशनले ठुट्याएकाे बरपीपलका हाँगामात्र हैनन् । केही अघि महानगरले नै नगरभित्र विभिन्न स्थानका रुखहरु छिमलेका थियो ।

त्यसपश्चात् उक्त दाउरा दमकल परिसरमा राखियो । पछि फाउण्डेशनले छिमलेका हाँगाबिँगा त्यही राख्न महानगरले अुनमति दियो । त्यसपछि आफुले र फाउण्डेशनले काटेका सबै दाउरा, मुढालगायत कोटीहोममा प्रयोग गर्न भन्दै ट्रष्टमा संकलन गर्न दिइएको हो ।

आज जफत भनिएका दाउरा, मुढामा स्वयं महानगरले कटान गरेको परिमाण फाउण्डेशनको भन्दा बढी छ ।

Scroll to Top