नयाँलिपिः पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको तालछेउमा कोटीहोम महायज्ञ हुन नसक्ने बताएका छन् ।
कोटीहोम गर्न स्थानीय प्रशासन, महानगर कसैले पनि स्वीकृति नलिएको भन्दै मेयर आचार्यले तालछेउमा ४ महिना लामो कोटीहोम गर्न असम्भव भएको बताएका छन् ।
‘प्रशासनले स्वीकृति दिएको छैन र यहाँ कोटीहोम हुनपनि सक्दैन’ आचार्यले भने ‘होमको धुँवाले वायु प्रदुषण हुन्छ जसले हवाई उडानलाई समेत असर गर्छ ।’ उनले पुम्दीकोट र सराङकोटमा महायज्ञ हुने भएपनि कोटीहोम पोखरामा नहुने उनको भनाई छ ।
कोटीहोम आयोजना गर्ने भन्दै मानव सेवा फाउण्डेशनले पोखरामा रहेको वरपिपल ठुट्याएर दाउरा संकलन गरेपछि पोखरा महानगर एक्सनमा आएको हो । सोही क्रममा फाउण्डेशनले उक्त दाउरा जफत गर्न पुगेका मेयरसँग सञ्चारकर्मीले प्रतिक्रिया लिएका हुन् ।
मेयर आचार्यले पत्रकारसँग भने ‘नत कोटीहोम आयोजना गर्न न वरपीपल छाँटेर दाउरा संकलन गर्न, महानगर र स्थानीय प्रशासनले अनुमति दिएको छैन ।’
वरपीपलको दाउरा संकलन गर्न अहिले नगर प्रहरीसहित मेयर आचार्य लेकसाइड पुगेका छन् ।