पोखराबाट प्रमलाई प्रश्नः ‘कुन नैतिकताले कर लिनुहुन्छ ओलीजी ?’

santan ads

नयाँलिपिः आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आम जनताबाट कर उठाउने नैतिकता नभएको भन्दै आलोचना गरेका छन् ।

आजपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको ‘कर आतंक विरुद्ध बृहत् भेला’लाई सम्बोधन गर्न पोखरा आएका पूर्वमन्त्री एवं हाल सभासद् रहेका अध्यक्ष साहले सरकार र प्रम ओलीलाई कर उठाउने नैतिकता नभएको उल्लेख गरेका हुन् ।

एउटा सर्वसाधारणबाट तीनै तहका सरकारले कर उठाउने गरेकोमा उनको आपत्ति रहेको छ । सरकारले आम जनताबाट ४६ प्रकारका कर उठाउने गरेकोे बताउँदै साहले हाल ४ गूणा बढी कर लिइने गरेको बताउँदै त्यसैको विरोधस्वरुप पोखरामा प्रदेश भेला आयोजना गरिएको बताए ।

‘विदेशबाट आयात गरिएको वस्तुको लागत १ लाख रुपैयाँ भए त्यसको मूल्य जनताले साढे २ लाख रुपैयाँ तिर्नुपर्छ’ साहले भने ‘भन्सारमा कर तिरेपछि त्यसलाई कूल मूल्य बनाएर फेरि कर लगाइन्छ, यो गलत हो ।’

त्यस्तै, पालिकापिच्छे निकासी कर लगाएर जनताको ढाड सेकेको उनको आरोप छ । ‘सरकारले हाल ४ गूण बढी कर लिएको छ, अब हामीले विकास पनि ४ गूणा बढी खोज्ने कि नखोज्ने ?’ उनले प्रश्न गरे ।

सरकारले चलाएको सबै कम्पनी घाटामा छ तर निजी कम्पनी नाफामा छ भन्दै उनले आफुले व्यवसाय गर्न नसकेपछि निजी व्यापारीबाट कर लिन सरकारलाई लाज लाग्नुपर्ने टिप्पणी गरे ।

‘सरकारले पोखरामा जहाज उडाउँछ तर घाटा व्यहोर्छ’ साह भन्छन् ‘निजी विमान कम्पनी नाफामा छ, आफुले गर्न नसकेपछि अरुको कमाईबाट कर असुल्न पाइँदैन ।’

हाल सरकारको बजेट १८ खर्ब रुपैयाँ रहेको भन्दै उनले भागै लगाएपनि एउटा वडालाई साढे २६ करोड रुपैयाँ पर्ने हिसाब देखाए । त्यसपश्चात् उनले प्रश्न गरे ‘तर बजेट अनुसारको विकास किन भएन ? त्यत्रो बजेट कहाँ गइरहेको छ ?’

सम्बोधनकैक्रममा उनले पोखरामा विश्वभरकै पर्यटक घुम्न आउने बताउँदै पोखरेली भने काम खोज्दै विदेशिनु पर्ने अवस्था आएकोमा सरकारको तीब्र आलोचना गरे ।

नेकपा माओवादी हुँदै नेकपामा समावेश भएका साह नेकपाभित्रका दल एकापसमा छुट्टिएपछि अघिल्लो निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र सांसद निर्वाचित भएका हुन् । त्यसपछि आम जनता पार्टी गठन गरी साह अध्यक्ष रहेका छन् ।

सभामा करिब १ हजारको हाराहारीमा सहभागी थिए । साह भन्छन् ‘नाम आजपा भएपनि यो कम्युनिष्ट पार्टी हो, वर्गीय संघर्ष जारी छ ।’

Scroll to Top