दिपक के श्रेष्ठः पोखरामा जारी टाइगर कपको खेल हेर्न शुक्रबार पोखरा रंगशाला आएका अन्तर्राष्ट्रिय भलिबल फेडेरेशनका डेभलपमेन्ट कमिसन सदस्य पिटर भान टेरलले आफु चकित भएको प्रतिक्रिया दिएका छन् ।
यसअघि ४ पटक पोखरा आइसकेका पिटर टाइगर कपका खेल हेर्न भने पहिलोपटक रंगशाला छिरेका हुन् । त्यसो त नेपालको कुनैपनि क्लबस्तरीय प्रतियोगितामा फेडेरेशनका सदस्य उपस्थित भएको यो पहिलो पटक हो ।
‘म यहाँ टाइगर ग्रूपले आयोजना गरेको भलिबल टुर्नामेन्ट हेरेर चकित भएको छु । खेल गज्जब छ अनि दर्शक, हावापानी र हिमाल पनि’ पिटरले भने । उनले टाइगर कप स्तरीय र व्यावसायिक टुर्नामेन्ट भएको भन्दै प्रशंसा गरे ।
पिटरले नेपालमा काभा टुर्नामेन्टको आयोजना गर्ने बताउँदै उक्त खेल आउटडोर हुने बताए । ‘अक्टोबरमा यहाँ आउटडोर काभा भलिबल हुनेछ जहाँ विश्वस्तरीय खेलाडीले खेल्नेछन्’ पिटर भन्छन् ‘टाइगर कपबाट फेडेरेशनले आउटडोरको योजना बनाएको छ ।’
नेपालमा भबिलको प्रगति द्रूत अवस्थामा रहेको पाइएको भन्दै उनले फेडेरेशनले नेपालको भलिबललाई नियालीरहेको उल्लेख गरे । सोही कारण यहाँ काभा भलिबल हुने र नेपाली भलिबलको विविध पक्षमा फेडेरेशनले सघाउने उनको प्रतिबद्धता छ ।
उनले भने ‘नेपाली भलिबललाई अन्य एशोसियशनले पनि हेरिरहेका छन्, उनीहरुले पनि नेपाली भलिबललाई भौतिक र प्राविधिक हिसाबले पक्कै सहयोग गर्ने आशा लिएको छु ।’
कुनैपनि खेललाई सहयोग गर्न अन्तर्राष्ट्रिय खेल संस्थाको डेभलपमेन्ट कमिसन वा डेभलपमेन्ट अफिसरले दूतकारुपमा काम गर्छन् । उनीहरुले दिएको रिपोर्टका आधारमा अन्तर्राष्ट्रिय खेल संस्थाले के–कस्तो सहयोग गर्ने भन्ने निर्धारण गर्छन् ।
करिब डेढ महिना अघि पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को टोलीले पनि कामठमाण्डौ र पोखराको क्रिकेट स्टेडियम, हावापानी, होटल, परिवहन सेवा आदिको अध्ययन गरेर फर्किएको छ ।