आज माघ १४ः राणा शासन हल्लाउने दशरथ चन्द र गंगालाल सहिद भएको दिन

santan ads

सुनिल उलक
बि. सं. १९६० असार १७ गते बैतडीमा जन्मनु भएका दशरथ चन्द नेपालगञ्जका त्यतिबेलाका बडाहाकिम शेरबहादुर चन्दका माहिला छोरा थिए । बाल्यकाल जन्मस्थान बस्कोट र बुबाको जागीरे ठाउ नेपालगञ्जमा बिताए पनि वडाहाकिमका छोरा भएको हुँदा शिक्षा दिक्षाको लागी बनारस र अल्मोडा पुगेका थिए ।

उता स्वतन्त्रता संग्रामको शुरुवात भइसकेको हुदा राजनीतिमा केही लाग्न थालेकालथिए । जङ्गबहादुरको शासन बिरुद्ध आन्दोलन गर्ने जयचन्द तथा हरिचन्द यिनकै पुर्खा थिए ।

बनारसमा इन्ट्रान्स दिएर आइए पढ्दै गर्दा अचानक उनको भेट रामराजासँग भयो । रामराजा जङ्गबहादुरकी छोरी वाग कि कान्छी मैयाको छोरा थिए । मोहन बिक्रम शाह नामले चिनिएका रामराजा चम्पारणका निसन्तान राजाको निधन पछि धर्म छोराको रुपमा चम्पारणको राजा भएपछि रामराजा नामबाट प्रख्यात भएका थिए । यिनै रामराजाले दशरथचन्दलाई चम्पारण विरासतको जग्गाको हेरचाह गर्न म्यानेजर बनाएर चम्पारण लिएर आएका थिए ।

यस्तैमा एकदिन अचानक रामराजाको दरवारमा दशरथको भेट राणाबाट निश्कासित भएका बाबुछोरा टीकप्रसाद र टंकप्रसाद आचार्यसँग भयो । टीकप्रसाद पहिले वडाहाकिम थिए तर पछि खोसुवामा परेका थिए । यहि भेटले एउटा मोड लियो । राणा बिरोधी राजनैतिक पार्टी खोल्ने मनसायले अलग अलग भएर काठमाडौ छिरेका यि दुइकै प्रयासमा पछि प्रजा परिषदको गठन भएको थियो ।

१९९३ जेठ २० गते नेपाल प्रजा परिषदको स्थापना भयो । शुरुका सदस्यहरु दशरथ चन्द, टंकप्रसाद, धर्मभक्त, रामहरी शर्मा तथा जीवराज शर्मा थिए । राणाशासन समाप्त गर्ने प्रमुख उद्धेश्य रहेको यो संगठनमा आर्थिक सहयोग दरवारबाट त्रिभुवनले गरेका थिए ।

बिश्वासी साथीको खोजी गर्दै सदस्य बनाउदै हिडेका यिनीहरुको संगठनको सदस्यमा एक गद्दार साथी रामजी जोशी पनि सदस्य बन्न सफल भए । राणा सरकारबाट घोषित ५००० रुपैयाँको पुरस्कारको लोभमा यिनले सबै सदस्यको नाम राणा शासकलाई बताइदिए । जसले गर्दा धेरै समातिए टंकप्रसाद भागेर पटना पुगेका थिए । तर दुर्भाग्य कसैले बाबु टीकप्रसाद सिकिस्त भएको पत्र पठाइदिदा फर्केर जनकपुर पुग्दा समातिए ।

१९९७ माघ १५ गते राती गङ्गालालसंगै दशरथचन्दलाई पनि शोभाभगवती लगिएको थियो । गङ्गालाललाई गोली हान्दा पोडे डराएर गलत निशाना लगाएका थिए । ति पोडेहरु भागे पछि अन्य सिपाही ल्याएर दशरथचन्दलाई गोली हान्न लगाइएको थियो । जसले गर्दा एकै गोलीमा उनको देहावसान भयो ।

राणाशासकहरु जनतालाई त्रसित गराउन भोलीपल्ट दिनभर नै लाश उठाउन दिदैनथे । लाश नजिकै ठूलो कागजमा गाठगाडी ताकेमा यस्तै गरिनेछ भन्ने चेतावनी लेखेर राख्ने गर्दथे ।

भनिन्छ १९९७ मा तोकिएको सजायको घोषणा चन्द्रशम्शेरका छोराहरु मोहनशम्शेर, बबरशम्शेर, र केशरशम्शेर जो कमान्डिङ अफिसरहरु थिए को दवावमा जुद्धशम्शेरले गर्न बाध्य भएका थिए । जुद्धशम्शेर त्यति बेला अर्को निर्णयमा पनि समस्यामा परेका थिए ।

राजा त्रिभुवनको नेतृत्वमा अर्को ‘रक्तपात मण्डली’ भन्ने गठन भएको थियो । जसको उद्धेश्य राणा परिवारको मुख्य मुख्य सदस्यको हत्या गर्ने थियो । राजाका कम्पाउण्डर चन्द्रमान सैजुलाई नारायणहिटी दरवारको भोजमा आउने निम्तालु उच्च पदस्थ राणाहरुको खानामा बिष मिलाउने जिम्मा दिइएको थियो । जसको कारणले चन्द्रमान सैजुलाई पनि मृत्युदण्ड सुनाउने तथा राजा त्रिभुवनलाई पदच्युत गरि गोरखामा लगेर थुन्ने तथा युवराज महेन्द्रलाई राजा बनाउने मनसाय जुद्धशम्शेरको थियो । जुद्धशम्शेर सामु साँचो बोलेको भनेर चन्द्रमान सैजुलाई सजाय दिइएन सर्वश्वहरण मात्र गरियो ।

राजा त्रिभुवनलाई पदच्युत गर्ने मनसाय भने चन्द्रशम्शेरका छोराहरु जो कमान्डिङ जनरलहरु थिए तिनका कारणले सम्भव भएन । जुद्धशम्शेरका नातिनीको विवाह युवराज महेन्द्रसंग भएको थियो भने चन्द्रशम्शेरका छोराहरु केशरशम्शेर सिंहशम्शेर र कृष्णशम्शेरको विवाह राजा त्रिभुवनका बहिनीहरुसंग भएको थियो । तसर्थ कमान्डिङ जनरल भएर बनेका चन्द्रशम्शेरका छोराहरुको बिमतीले त्रिभुवनलाई पदच्युत गर्न सकेनन् । उता नाति ज्वाइ युवराज महेन्द्रले पनि बाजेले यदि बुबा राजा त्रिभुवनलाई निस्कासित गर्छ भने आफु पनि साथ लागेर जाने भनेका थिए ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍=========================================================================================

गङ्गालालकाे जन्म बि. सं १९७५ मा रामेछापमा भएको थियो । काकासंगको कलकत्ता बसाइमा उतै शिक्षा आर्जन गरेका गङ्गालाल पछि काठमाडौ आएर दरवार हाई स्कुलमा भर्ना भएका थिए । यहिंबाट बि. सं १९९४ मा प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेका थिई । यसपछि त्रीचन्द्र कलेजमा आइएस्सी पढ्दै गर्दा राणाविरोधी आन्दोलनहरुमा होमिन पुग्नुभएका थिए ।

१९९४ जेठमा महावीर स्कुलको स्थापना भएको थियो र केही शिक्षकहरु पूर्णबहादुर, टंकविलास, गङ्गालाल, बाक्पतिराज, ईन्द्रप्रसाद, सिद्धिचरण, सूर्यबहादर भारद्वाजले पढाउन थालेका थिए । यता नेपाल प्रजा परिषदको पनि स्थापना भइसकेको थियो । यस्तैमा १९९७ कार्तिक २ गते महावीर स्कुलका शिक्षकहरु समातिए । उता नेपाल प्रजा परिषदका सदस्यहरु पनि समातिए ।

जसको फलस्वरुप १९९७ माघ ७ गते राणा प्रधानमन्त्री जुद्धशम्शेरले त्यतिबेलाका कमाण्डिङ अफिसर पद्मशम्शेर र चारै कमाण्डिङ जनरलहरु मोहनशम्शेर, बबरशम्शेर, बहादुरशम्शेर, केशरशम्शेर र वडागुरुज्यूसमक्ष सिंहदरबार बैठकमा यस प्रकारको फैसला सुनाइएको थियो ।

१। शुक्रराज शास्त्री जोशी, बाङगेमुढा, सर्वस्व र ज्यान सजाय
२। धर्मभक्त श्रेष्ठ माथेमा, जोरगणेश, सर्वस्व र ज्यान सजाय
३। दशरथ चन्द ठकुरी, बैतडी, सर्वस्व र ज्यान सजाय
४। गङ्गालाल श्रेष्ठ, प्याफल, सर्वस्व र ज्यान सजाय
५। ना।सु। पूर्णनारायण प्रधान, न्हैकन्तला, सर्वस्व र ज्यान सजाय
६। टंकप्रसाद आचार्य, सिफल, सर्वस्व र मुडेर दामल गर्ने
७। रामहरी शर्मा उपाध्याय, ज्ञानेश्वर, सर्वस्व र मुडेर दामल गर्ने
८। गणेशमानसिंह श्रेष्ठ, आजन्म कैद र सर्वश्वहरण
९। चुडाप्रसाद शर्मा, आजन्म कैद र सर्वश्वहरण
१०। हरिकृष्ण श्रेष्ठ, आजन्म कैद र सर्वश्वहरण
११। गोबिन्द प्रसाद उपाध्याय, आजन्म कैद र सर्वश्वहरण
१२। पुष्करनाथ उप्रेती, आजन्म कैद र सर्वश्वहरण
१३। बलबहादुर पाण्डे, आजन्म कैद र सर्वश्वहरण
१४। जीवराज शर्मा, १८ वर्ष कैद

यसमा ज्यान सजाय सुनाइएका पूर्णनारायणलाई फाँसीमा झुन्ड्याउने १९९७ माघ १९ गते श्रीपंचमीको दिन तय भएको थियो । त्यस दिन नयासडकको गेट नजिकै बाँस गाड्दै गरेको जुद्धशम्शेरले देखेपछि सोधे, ‘के गर्न लागेको ? सिपाहीले ? फाँसी दिनको लागी बाँस काट्दै गरेको सरकार भन्ने सुनेपछि उनले भने श्रीपंचमीमा पनि कसैलाई फाँसी दिन्छ, उनलाई आजन्म कैदमा राख्ने निर्णय गरे भनेर हिडेछन । जसले गर्दा पूर्णनारायण आजन्म कैदमा राखियो । प्रजातन्त्रको प्राप्ती पछि उनि जेल मुक्त भए ।
गङ्गालालको मृत्युदण्डको राती बिष्णुमतीको किनार शोभाभगवती मन्दिर नजिकै लगियो । दुइवटा खाँबोमा गङ्गालाल र दशरथ चन्दलाई बाँधियो । त्यसपछि अन्तिम अवसरको रुपमा माफी माग्न भनियो, तर दुवैले मानेनन् ।

पहिले गङ्गालाललाई मृत्युदण्ड दिने भयो । नरशम्शेरले पोडेलाई गोली हान्न लगाए । काँपेको हातले गोली हान्दा तिघ्रामा लाग्यो । रगतको भल छुट्यो । चोटले ऐया गर्दै गङ्गालालले नरशम्शेरलाई ‘मर्दको छोरा होस भने छातीमा गोली हान्’ भनेर चिच्याए । फेरी दोश्रो गोली पोडेले हाने त्यो पनि काखीमा लागेर पछाडी छिर्यो । त्यसपछि नरशम्शेरले पिस्तोल खोसेर आफै छातीमा हाने । गङ्गालालको आवाज बन्द भयो । केवल २२ वर्षका होनहार युवा सदाको लागी बिदा भए । देशको लागी सहिद भए ।

 

 

Scroll to Top