औद्योगिक मेलामा अफर, टिकटक विजेतालाई २० हजार

santan ads

नयाँलिपिः पोखरामा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द बास्तोलाका अनुसार १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको व्यापार मेलामा रहेको नेपाल टेलिकमको स्टलबाट निःशुल्क सिमकार्ड बितरणको व्यवस्था मिलाइएको छ । उनका अनुसार नागरिकताको फोटोकपी तथा व्यक्तिको फोटो ल्याउनासाथ स्टलबाटै सिमकार्ड उपलब्ध हुन्छ ।

‘यस्तै त्यहाँ राखिएका स्टलहरुबाट ल्यापटप तथा मोवाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट,सिसिटिभी क्यामेरा खरिदमा जडानसहित निःशुल्क,स्मार्ट बोर्ड खरिदमा किस्ताबन्दीको सुविधा,मोवाइल एक्चचेञ्ज अफरका साथै मर्मतमा पनि ५० प्रतिशत छुटको व्यवस्था छ,’उपाध्यक्ष बास्तोलाले भने,‘दैनिक टिकटमा १० जनालाई बन्दीपुर केबलकारको टिकट तथा ५ जनालाई मोवाइल फोन नै प्रदान गरिएको छ ।’

संघका महासचिव शोभा गौतमका अनुसार अलोकनकर्ताहरुका लागि टिकटक बनाउने प्रतियोगितासमेत मेलाअन्तर्गत नै आयोजना गरिएको छ । टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्ने पनि उनले जानकारी दिइन् । भ्यूअर्सको आधारमा विजेता छनोट गरिने छ ।

सोमबार चर्चित कलाकारहरु जीवन दाहाल, शंकरविरही गुरुङ,सुनिता नेपाली,कृष्णा गुरुङलगायतको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक ललित कुँवरले जानकारी दिए ।

Scroll to Top