महानगरकै व्यवस्थापनमा ‘डेभिज फल’, बेरुजु फछर्याैट गरिने

santan ads

नयाँलिपिः केही दिनदेखि छोरेपाटन मावि र पोखरा महानगरपालिकाबीच डेभिज फल (पाताले छाङगो) सञ्चालनको विषयमा भएको विवादमा महानगर हावी भएको छ ।

आज महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगोमा भइरहेको अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेविज फल्स महानगरपालिका आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा छोरेपाटन मा।वि।ले डेभिज फल्सको पर्यटन शुल्क उठाइरहेको विषय नेपालका प्रचलित कानुन, पोखरा महानगरपालिका आर्थिक ऐनको प्रावधानहरू विपरीत रहेको र महालेखाको प्रतिवेदनले समेत डेभिज फल्सबाट पर्यटन शुल्क उठाइ सो बापत प्राप्त आम्दानी छोरेपाटन माविले भोग गरिरहेको उल्लेख छ ।

प्रतिवेदनले ‘नियम विपरीत भनी स्पष्ट किटान गरी असुल उपर गर्नुपर्ने बेरुजुको रूपमा कायम गरेको हुँदा तत्कालै डेभिज फल्समा लगाएको ताला खोलेर महानगर आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाइ डेभिज फल्स सञ्चालन गर्ने, पर्यटकको लागि खुल्ला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटको लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरियो’ निर्णयमा भनिएको छ ।

यस्तै डेभिज फल्समा परियोजना सञ्चालन गर्ने सम्बन्धमा सर्वपक्षीय बैठकले सरोकारवाला पक्षहरूका बिचमा छलफल गर्ने निर्णय गरेको छ ।

‘मिति २०७८ साल श्रावण १४ गते सम्झौता भई सेती क्यानोन प्रालिलाई शिशापुल तथा अन्य पर्यटन पूर्वाधार निर्माण गर्ने गरी सार्वजनिक निजी साझेदारी अवधारणामा परियोजना अगाडि बढिरहेको अवस्थामा सो परियोजनाका सम्बन्धमा सम्झौताको समयावधि र परियोजनाबाट प्राप्त हुने रोयल्टी लगायत अन्य स्थानीय बासिन्दाले प्राप्त गर्ने अवसरका सम्बन्धमा समेत राजनीतिक दल तथा स्थानीयवासीको समेत प्रतिनिधिमूलक उपस्थितिमा छलफल गर्न आवश्यक देखिएको हुँदा सो परियोजना सञ्चालनको लागि सेती क्यानोन प्रालिको समेत उपस्थितिमा व्यापक छलफल मार्फत अगाडि बढ्ने निर्णय गरियो’ बैठकको निर्णयमा भनिएको छ ।

डेविज फल्सबाट सङ्कलन हुने पर्यटन शुल्क महानगरपालिकाले उठाउन थालेपछि अवरोधका कारण माघ १ गतेदेखि त्यहाँ महानगरपालिकाले सिल गरेको थियो । आइतबार बसेको सर्वपक्षीय बैठकले त्यसलाई नियमितरूपमा सुचारु गर्ने गरी निर्णय गरेको छ ।

बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे सहित सुरक्षा निकायका प्रमुखहरू, वडा नं . १७ का वडा अध्यक्ष राधिका कुमारी शाही योगी, छोरेपाटन माविका प्रधानाध्यापक, विव्यसका अध्यक्ष र पूर्व अध्यक्षहरू समेतको उपस्थिति थियो ।

Scroll to Top