नयाँलिपि । पछिल्लो समय नेपालीहरुको पनि जीवनशैली बदलिँदै गइरहेको छ । जसको प्रभाव कतिपय परिवार सन्तानवीहिन भएका छन् । खानपानको असन्तुलनले पछिल्लो समय धेरै नेपालीहरुमा पनि बाँझोपनको समस्या देखिएको छ ।
यससँगै पुरातनवादी सोंच र अन्धविश्वासकाकारण निःसन्तान दम्पत्तिमाथि समाजले हेर्न दृष्टिकोण र हुने दुव्र्यवहार पनि त्यत्तिकै छ । पछिल्लो समय विश्वमै ‘इन–भिट्रो फर्टिलाइजेशन’ (आइभीएफ)ले सन्तान प्राप्तीको रहर पुरा गर्दैछ । विवाहको धेरै वर्षसम्म पनि निःसन्तान रहेका दम्पत्ति काठमाण्डौंमा खुलेका फर्टिलिटी सेन्टर धाउन थालेका छन् ।
काठमाण्डौ धाउँदा हुने शारीरिक, मानसिक र आर्थिक बोझलाई कम गर्न र गूणस्तरीय सेवा दिन पोखरामै सन्तान आइभीएफ क्लिनिक स्थापना भएको छ ।
नयाँलिपिसँग गरिएको विशेष सम्वादमा क्लिनिकका प्रबन्ध निर्देशक निलकण्ठ पराजुलीले भने ‘पोखरामा पनि निःसन्तान दम्पत्तिको चाहना पुरा गर्ने उद्देश्यले फर्टिलिटी सेन्टर स्थापना गर्ने योजनामा थियौं, अब त्यो योजना पुरा भएको छ ।’
पोखराको महेन्द्रपुलमा स्थापना भएको क्लिनिकले निःसन्तान दम्पत्तिलाई प्रारम्भिक चरणमा काउन्सिलिङ गरी औषधिको प्रयोग गराउने र आवश्यक परे मात्र आइभीएफ प्रक्रियामा जाने निर्देशक पराजुली बताउँछन् ।
भारतमा बीसौं वर्षदेखि आइभीएफ र फर्टिलिटीमा विशेषज्ञता हासिल गरेको इम्रोलोजिष्ट विज्ञ सन्तानको टीममा रहेको पराजुलीले बताए । सेन्टरका अनुसार भारतका विशेषज्ञले समेत पोखरामा सेवा दिनेछन् ।
‘हाल टेष्टट्युब बेबी, आइभीएफ जस्ता शब्द बढी प्रयोग भएका छन्, पराजुलीले भन्छन् ‘तर अनुशासित जीवनशैली र सामान्य औषधिकै प्रयोगबाट गर्भाधानमा सहयोग पुग्न सक्छ ।’ फर्टिलिटीकै क्षेत्रमा १५ वर्षदेखि सेवा दिइरहेका पराजुलीका अनुसार दम्पत्ति स्वयं अनुशासित भए औषधिकै प्रयोगले सन्तानको रहर पुरा हुनसक्छ ।
क्लिनिक स्थापनापूर्व गरिएको अध्ययनमा पोखरामा निःसन्तान दम्पत्तिको संख्या सोचेभन्दा बढी पाएको र राजधानीबाट आएका डाक्टरले सेवा दिने गरेको उनले बताए । ‘राजधानीबाट डाक्टर आउने र मासिक ४० मध्ये २५ दम्पत्तिलाई पछि उतै बोलाउने गरेको पाइयो’ उनी भन्छन् ‘सेवाग्राहीलाई राजधानी धाउनु पर्ने भार कम गर्न पोखरामै सेन्टर स्थापना गरेका हौं ।’
सेन्टरमा गोपनीयतालाई हदैसम्म ख्याल गरिएको उनले बताए । कसैले गोपनीयता कायम गरिदिन भनेदेखि उनीहरुलाई ‘प्राइभेसी रुम’को व्यवस्था गरिएको उनको भनाई छ ।
क्लिनिकसँग भ्रुण विशेषज्ञ रहेको छ, जसले दुई दशकदेखि फर्टिलिटीको क्षेत्रमा सेवा दिइरहेका छन् । यद्यपि, शूल्क भने राजधानीको भन्दा कम पर्ने पराजुलीले जानकारी दिए । क्लिनिकमा फर्टिलिटी विधामै भारतबाट फेलोशीपप्राप्त डा.सरिता गुरुङ् रहेकी छिन् ।
बाझोपन विशेषज्ञसमेत रहेकी डा.गुरुङ्ले भारतमा आइभीएसम्बन्धी विशेषज्ञता हासिल गरेकी छिन् । गुरुङ् भन्छिन् ‘भारतमा हामीले दिएको आइभीएफलगायतको सेवाको दर निकै उच्च छ । सोही प्रकृतिको सेवा अब सन्तानबाट पनि दिइनेछ ।’
त्यस्तै, गुरुङले उच्च सफलता दरलाई कायमै राख्न क्लिनिकमा प्रविधि र विशेषज्ञता दुबै उपलब्ध भएको बताउँदै क्लिनिकले पोखरामा कम शूल्कमा उच्चस्तरीय सेवा दिने दाबी गरिन् ।
प्रबन्ध निर्देशक पराजुलीका अनुसार निःसन्तान दम्पत्तिलाई सिँधै आइभीएफ गरिँदैन । सुरुवाति क्षणमा दम्पत्तिलाई चेकजाँच गरेर ५ हजार रुपैयाँको औषधिले नै गर्भधारण हुनसक्छ ।
आइभीएफ नै गर्न पर्ने अवस्था आएमा करिब २ महिनाकोे समय लाग्न सक्छ । आइभीएफ गर्न सामान्यतयः साढे २ लाख रुपैयाँ वा केही बढी लाग्ने सेन्टरले जनाएको छ ।
त्यसो त आइभीएफ प्रणाली महंगो पर्ने र सबैको पहुँचमा नहुने गुनासो आमरुपमा सुन्न पाइन्छ । तथापि, कुनैपनि परिवार पैसाकै कारण निःसन्तान हुन नपरोस् भन्ने सेन्टरको सोंच रहेको छ ।
‘सेन्टरले आर्थिक अभावकैकारण सकेसम्म कसैको पनि काख रित्तो नहोस् भन्ने चाहेको छ’ पराजुलीले भने ‘निम्न वर्गको हकमा वडा कार्यालयको सिफारिशमार्फत सेन्टरले निशूल्क आइभीएफ गरिदिनेछ ।’ वार्षिक कोटाको संख्या भने केही दिनभित्र निर्धारण गर्ने उनले सुनाए ।
साथै, सेन्टरमा कुनैपनि दम्पत्तिले आफ्नो आण्डा,शुक्रकिट वा भु्रण भण्डारण गर्न सक्छन् । प्रायः वैदेशिक रोजगारमा जाने वा अन्यकारणले सन्तान जन्माउन समय नमिल्दा अण्डा,शुक्रकिट एंव भु्रणलाई नै भण्डारण गर्न सक्छन् ।
जसले पछि चाहेको खण्डमा जति बेला पनि सम्तान जन्माउन सक्छन् । न्यून शूल्कमा जो कोहीले स्वस्थ अण्डा,शुक्रकिट एवं भ्रुण भण्डारण गर्न सक्ने सेन्टर बताउँछ ।