‘फेवातालसँग सम्बन्धित हजारौं प्रश्नका उत्तर अब केहि दिनमा’ – मेयर आचार्य

दिपक के श्रेष्ठ

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालसँग सम्बन्धित हजारौं प्रश्नका उत्तर अब केहि दिनभित्र आउने बताएर पोखरेलीमाझ कौतुहलता जगाइदिएका छन् ।

कान्तिपुर टिभीद्वारा आज पोखरामा आयोजित गन्तव्य गण्डकीअन्तरगत ‘राजनीति र पर्यटन नीति’ सत्रमा बोल्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।

मेयरलगायतको अभिव्यक्तिपछि सशंकित बनेका लेकसाइड निवासीकातर्फबाट पर्यटन व्यवसायी एवं रेबानका पूर्व अध्यक्ष सूर्य भुजेलले ८–१० पूस्तादेखि फेवातालको छेउमा बस्दै आएका स्थानीयमाथि कानूनको तरबार चलाउन खोजिएको गुनासो गरे ।

‘विश्वमा हेर्ने हो भने नदी, ताल छेउमा मानव बस्ती छ हामी लेकसाइडको बाटोभन्दा माथि बसेका छौं’ भुजेलले सोधे ‘महानगरबाट सम्पन्न र स्वीकृति लिएर बनेका घरमाथि किन आँखा गाडिन्छ ?’

सर्वाेच्चको आदेशमा ६५ मिटर भनिएपनि त्यहीभित्र पुराना बस्ती, ऐतिहासिक, पुरातात्विक क्षेत्रमा भने ३० मिटरको मापदण्ड राखिएको भुजेलले बताए ।

६५ मिटर कार्यान्वयन भए करिब ४०० पर्यटन व्यवसायीलगायत स्थानीय घर न घाटको हुने उनले जानकारी गराए ।

उक्त जिज्ञासाको जवाफ दिनेक्रममा मेयर आचार्यले सर्वाेच्चसमक्ष महानगरले ३० मिटरको मापदण्ड बनाएर पठाएपनि खारेज गरिदिएको बताए । हाल फैसला कार्यान्वयनका सन्दर्भमा अदालतलाइ हरेक महिना प्रगति विवरण बुझाइरहेको उनको भनाई छ ।

अब फैसला कार्यान्वयनको अन्तिम क्षणमा पुगेको बताउँदै आचार्यले भने ‘मुआब्जा, क्षतिपुर्तिका विषयमा के गर्न सकिन्छ सबैसँग छलफल गरेर अघि बढ्नेछौं ।’

Scroll to Top