गण्डकीका औषधि व्यवसायीलाई सेवा दिन विभागको टोली पोखरामा

नयाँलिपिः औषधि व्यवस्था विभागको टुरमुकाम टोली (घुम्ती सेवा शिविर) पोखरामा रहेको छ ।

औषधि व्यवसायीहरुले लिनुपर्ने सरकारी सेवा प्रदान गर्ने उद्देश्यले टुरमुकाम पोखरा आएको औषधि व्यवसायी संघ, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिए ।

‘प्रादेशिक स्वास्थ्य निर्देशलाय, पोखरामा टुरमुकामको टोली रहेको छ’ पाण्डेले भने ‘औषधि व्यवसायीहरुले आगामी ११ गतेसम्म आवश्यक विभागीय सेवा लिन सक्नुहुनेछ ।’

पाण्डेका अनुसार व्यवासायीहरुले व्यवसायको दर्ता, नवीकरण, नामसारीजस्ता सेवा लिन सक्नेछन् । विभागको कार्यालय गण्डकी प्रदेशमा नभएको जनाउँदै उनले टुरमुकामबाट सेवा लिन प्रदेशका व्यवसायीहरुलाई आग्रह गरे ।

वर्षैपिच्छे नवीकरण गर्नसमेत राजधानी धाउनु पर्ने बाध्यता भएको बताउँदै उनले गण्डकी प्रदेशमा औषधि व्यवस्था विभागको कार्यालय स्थापना गर्न सम्बन्धित निकायसमक्ष माग गरिरहेको पनि जनाए ।

टुरमुकामको टोली प्रादेशिक संरचना गई सके पछि दोस्रो पटक आएको बताउँदै व्यवसायी संघ, कास्कीका अध्यक्ष धिरज गौतमले जिल्लामा रहेको व्यवसायीलाई तत्काल सेवा लिन अपील गरेका छन् । टुरमुकामसम्बन्धी कुनै जानकारी लिन परे जिल्ला समितिमा सम्पर्क गर्नसमेत गौतमले अनुरोध गरेका छन् ।

प्रदेशका सबै जिल्लाका व्यवसायीलाई विभागले ६ गतेदेखि सेवा दिन सुरु गरेको गौतमले बताएका छन् ।

Scroll to Top