जनयुद्धका कमाण्डर जसले ब्राण्डिङ् गरे ‘कोदोको रक्सी’

दिपक के श्रेष्ठ

जनयुद्धताकाका कुशल कमाण्डर अनि रणनीतिकारमध्येका एक हुन् दिपक तिमिल्सिना अर्थात् कमरेड ‘साकार’, जो यतिबेला गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष हुन् ।

उनै अध्यक्ष साकार गाउँपालिकावासीलाई स्थानीय उत्पादनबाट समृद्धिको बाटोतर्फ डो¥याउन तल्लिन छन् । साकारको सोही योजनाको सुरुवात कोदोको रक्सीबाट हुँदैछ ।

गाउँपालिकाको गण्डकीको वडा नं. ५ मा रानीस्वाँरा मगरात सामुदायिक होमस्टे र वडा नं. २ मा पाथीस्वाँरा मनमोहक होमस्टे गरेर दुई होमस्टे सञ्चालित छन् । जहाँ पाहुनाहरुलाई कोदोको रक्सी दिइनेमात्र हैन उपहारकोरुपमा रक्सी नै बेच्नेसमेत गरिन्छ ।

अध्यक्ष साकारले रक्सीलाई आयआर्जनमा जोड्ने मात्र हैन पालिकाको पहिलो स्थानीय उत्पादन ‘गण्डकी’लाई ब्राण्डकैरुपमा अघि बढाउन गाउँपालिकाको १५ औँ गाउँसभाबाट घरेलु मदिरा बजारीकरण कार्यविधि (कोदो तथा फलफूलकोे रक्सी उत्पादन, ब्रान्डिङ, बिक्री–वितरण तथा व्यवस्थापन) बहुमतले पारित नै गरे ।

सोही कार्यविधिको नतिजास्वरुप गण्डकी प्रदेशमै कोदोको रक्सी वैधानिकतवरमा बिक्री वितरण सुरु भएको छ । अझ सञ्चालित होमस्टेले आयातित रक्सी वितरणमा सकेसम्म रोक लगाउने र लोकल रक्सीलाई नै प्रवद्र्धन गरी देशका विभिन्न बजारमा लैजाने योजना बनाइरहेको छ ।

स्थानीयस्तरमा उत्पादन हुने कोदो तथा विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरलाई ब्रान्डकोरूपमा लैजान सके आम्दानीका साथै स्थानीय पहिचान पनि हुने भएकाले जिल्लामै पहिलो कार्यविधि बनाएर अघि बढेको गण्डकी पालिका अध्यक्ष साकार बताउँछन् ।

होमस्टेका आमा समूह रक्सी उत्पादनमा लाग्दा अन्न र तरकारी बालीको उत्पादन पनि बढ्ने विश्वास रहेको साकार उल्लेख गरे । किसानले उत्पादन गरेका अन्नबाली गाउँकै सहकारी मार्फत् बिक्री वितरण गर्नेलाई प्रतिकेजी रु. २ र कोदोलाई प्रतिकिलो रु. ५ गाउँपालिकाले अनुदान दिने गरेको उनको भनाई छ ।

पालिकाका वडामा मगर र गुरुङको बाक्लो बस्ती भएको उल्लेख गर्दै उनीहरुको संस्कारमा समेत रक्सी चलाउनु पर्ने र कृषि उद्यममा पनि जोड्ने आशयले रक्सीलाई प्राथमितका दिने परिकल्पना १ वर्षअघि नै गरेको साकारले सुनाए ।

‘कोदोको रक्सी ब्राण्डिङ गर्नुको अर्थ पालिकावासी वा अन्यलाई मदिरा पिउनु आकर्षित गर्नु होइन’ साकारले भने ‘मर्यादित ढंगले र मात्रा मिलाएर पिउनुहोस् भन्न खोजिएको हो ।’

रैथाने बालीकारुपमा चिनिएको कोदोलाई संरक्षण गर्न पनि केही न केही गर्नैपर्ने बाध्यता रहेको उनले उल्लेख गरे ।

साकारका अनुसार पालिकाभित्र अन्य वडामा पनि रक्सी उत्पादनको सम्भावना छ । वडा नम्बर १ मा सुपर त्रिशुली र ८ मा बुढीगण्डकी हाइड्रोपावर सञ्चालनमा आएपछि पालिकाले आयका अन्य क्षेत्र पहिल्याउने योजना रहेको उनले बताए ।

पालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गरी २ महिला समुहबाट होमस्टे सञ्चालन गरी कोदोको रक्सीलाई ब्राण्डिङ गरेर बेच्न सुरु गरेको हो ।

‘जनयुद्धताका रक्सी बनाउने, पिउनेलाई भाटा हान्ने काम त गर्नुभएन नि ?’ भन्ने प्रश्नमा अध्यक्ष साकार भन्छन् ‘भाटा हानिएन, सचेत गराइयो, अहिले पनि सचेत गराइरहेको छु ।’

Scroll to Top