कांग्रेसको कार्यक्रम वडा कार्यालयमा, अध्यक्ष भन्छन्ः ‘पार्टी प्यालेस फोहोर थियो’

नयाँलिपिः नेपाली कांग्रेस, पोखरा–९ ले पार्टीको १०० दिने कार्यक्रमअन्तरगत आयोजित अन्तरक्रिया कार्यक्रम वडा कार्यालयमा गरेको छ ।

आज आयोजित कार्यक्रमको ब्यानरमा ‘पोखरा पार्टी प्यालेस’ बाँस्तोलाथर, उल्लेख गरिएपनि कार्यक्रमस्थल भने वडा कार्यालय नै रहेको छ । पार्टीको कार्यक्रम वडा कार्यालयभित्र गर्नु राजनीतिको संहिताविपरित भएको बताइन्छ ।

अन्तरक्रियामा पार्टीकातर्फबाट पूर्वनगरसभापति बजीरमान श्रेष्ठ खटिएका थिए । वडा कार्यालयमा पार्टीको कार्यक्रम गरिएका तस्बिर सामाजिक सञ्जालमा भेटिएकाे छ ।

यस विषयमा वडाध्यक्ष दीपेन्द्र मर्सानीले सुरुमा पार्टी प्यालेस बन्द भएको बताएपनि पछि फोहोर भएकाले वडा कार्यालयमा गरेको प्रतिक्रिया दिए ।

‘वडा पनि समाजको सामाजिक हल हो, बहूदलीय व्यवस्थामा अरु पार्टीले पनि गरिहाल्छन्’ अध्यक्ष मर्सानीले भने ‘यो ठूलो विषय होइन, वडा १५ मा पनि पार्टीको कार्यक्रम भएको छ ।’

वडामा पार्टीको कार्यक्रम गर्न संहिताले नदिने कुरा राख्दा मर्सानीले ‘गरिहालियो, तिर्नुपरे तिरौंला’ भन्ने अभिव्यक्ति दिए ।

 

 

Scroll to Top