गण्डकीमा ‘एचपीभी’: अर्काे साता जिल्ला पठाइने, २२ देखि लगाइने

दिपक के श्रेष्ठ

गण्डकी प्रदेशमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप आइपुगेको छ ।

उक्त खोप प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउन लगाइनेछ । प्रदेशमा १ लाख १८ हजार ७७४ जनालाई खोपसेवा दिने स्वास्थ्य मन्त्रालयको योजना छ ।

स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले दिएको जानकारी अनुसार खोप भण्डारण गर्न प्रदेशका सबै जिल्लामा पूर्ण तयारी सकिएको छ ।

मन्त्रालयका प्रवक्ता सुरज गुरौले बताए अनुसार खोप भण्डारण गर्न प्रदेशका जिल्लामातहत सबै जनस्वास्थ्य कार्यालयमा व्यवस्थापन गरिएको छ ।

‘हामीसँग कोभिडकालेदेखि नै आइसल्याण्ड रेफ्रिजेरेटर (आइएलआर)को सेटअप छ’ प्रवक्ता गुरौले भने ‘सोही फ्रिजले एचपीभी खोपलाई भण्डारण गर्नेछ ।’

एचपीभी खोप अघिल्लो वर्ष नै लगाउन सुरु गरेको बताउँदै गुरौले त्यसबेला सिमित मात्रामा खोप उपलब्ध भएको र यसवर्ष परिणाम वृद्धि भएपछि देशैभरका किशोरीलाई सेवा प्रवाह गर्न लागिएको उनले बताए ।

खोप उपलब्ध गराउन संघीय मन्त्रालयबाटै पहल भएपछि सातै प्रदेशमा सम्बन्त्रित मन्त्रालय र मातहतका विभागले सेवा प्रवाहमा खटिन सुरु भएको उनले जानकारी दिए ।

गण्डकी प्रदेशमा खोपसम्बन्धी सम्पूर्ण दायित्व मन्त्रालयअन्तरगत आपुर्ति व्यवस्थापन केन्द्रको हुनेछ । जसले जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी काम गर्ने प्रदेश खोप अधिकृत एवं फोकलपर्सन एकनारायण लम्साल बताउँछन् ।

लम्सालका अनुसार खोप आइपुगेको छ । र, जनस्वास्थ्य कार्यालयमा भण्डारण गरिएको छ । सबै जिल्लामा आइएलआर रहेको बताउँदै लम्सालले हाल जिल्ला–जिल्लामा खोपसम्बन्धी तालिम र योजना तर्जुमा गोष्ठी आयोजना भइरहेको बताए ।

‘देशैभर एकैपटक माघ २२ गतेदेखि एचपीभी खोप लगाउन सुरु गर्ने योजना अनुरुप गण्डकी प्रदेशका सबै जिल्लामा पनि सुरु हुनेछ’ खोप अधिकृत लम्साल भन्छन् ‘माघ १५ पछि प्रदेशका सबै जिल्लामा खोप पठाउने काम सुरु हुनेछ ।’

खोप पठाइनुअघि जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई खोपसम्बन्धी आवश्यक तालिम र अभिमुखिकरणलाई तीब्रता दिइने उनले उल्लेख गरे ।

‘भ्याक्सिन र खोपकालागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा नेपालमा खोप पठाइएको हो । नेपालमा १७ लाख ७० हजार २० मात्रा खोप आएको छ ।

मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका ‘एचपीभी’ भाइरसको पटक पटक सङ्क्रमण भएर २० वर्षसम्म रहेमा पाठेघरको मुखको क्यान्सर हुने गरेको चिकित्सकहरुको भनाइ छ ।

नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार तीन सय १३ जना अर्थात् औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।

Scroll to Top