नयाँलिपिः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज पहिलो ब्याचका ४३ विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्विडेनको कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस वेस्टग्रेनले विद्यार्थीहरुलाई आज दीक्षित गरेका छन् ।
मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट (चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी/एमएस)का प्रथम र दोस्रो ब्याचका क्रमश १७ र २६ विद्यार्थीलाई दीक्षा दिइनेछ । कार्यक्रम पोखरा नर्सिङ क्याम्पसको प्रांगणमा गरिने प्रतिष्ठानका शाखा अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिए ।
प्रतिष्ठानले २०७६ फागुनबाट शैक्षिक कार्यक्रम सुरु गरेको हो । स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसुतिरोग, हाडजोर्नी र एनेस्थेसिया गरी ६ विधाका १७ विद्यार्थीबाट पढाइ सुरु गरेको हो ।
प्रतिष्ठानले दोस्रो शैक्षिक सत्रमा अघिल्ला शैक्षिकसत्रमा सञ्चालित ६ कार्यक्रमका साथै रेडियोलोजी गरी ७ वटा विधाका २६ जना विद्यार्थी लिएर पढाएको थियो ।
पहिलो पटक प्रतिष्ठानले जनरल सर्जरीमा ४ सिट, स्त्री तथा प्रसूती रोगमा ४ सिट, हाडजोर्नीमा ३ सिट, जनरल मेडिसिनमा २ सिट, बालरोगमा २ सिट, एनेस्थेसियालोजीमा २ सिटबाट अध्यापन यात्रा अगाडि बढाएको हो ।
अहिले प्रतिष्ठानमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसूतीरोग, हाडजोर्नी, एनेस्थेसिया र रेडियोलोजी, नाक कान घाँटी तथा प्याथोलोजी गरी ३ शैक्षिक सत्रमा ९२ जना आवासीय विद्यार्थी छन् ।
हाल चिकित्सा शिक्षाका विभिन्न विधाका तेस्रो वर्षमा ३२, चौथो र पाँचौं वर्षमा ३०/३० जना रेजिडेन्ट चिकित्सकहरु स्नातकोत्तर तहमा अध्ययनरत छन् । प्रतिष्ठानले बिएस्सी नर्सिङ र बिएनएसको पढाइ पनि थालेको छ । जसमा पहिलो र दोस्रो वर्षमा गरी १ सय २१ विद्यार्थी अध्ययनरत छन् ।
यसै वर्षदेखि प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालनमा आएको छ । जसमा ५० सिट क्षमतामा ४६ विद्यार्थी भर्ना भएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना भएको प्रतिष्ठानमा चिकित्सा शिक्षासम्बन्धी जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी बनाउन प्रयत्नशील रहेको प्रशासनको दाबी छ ।
तस्बिर सौजन्यः राजाराम पौडेल