यू–१९ महिला क्रिकेट : दोस्रो वार्मअप म्याचमा पनि नेपाल पराजित

यू–१९ महिला टी–२० विश्वकपको वार्मअप म्याचमा पनि नेपाल पराजित भएको छ । नेपाललाई अमेरिकाले ५ विकेटले पराजित गरेको हो । अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो हार हो । नेपालले पहिलो खेलमा वेस्ट इण्डिजविरुद्ध ९ रनको हार बेहोरेको थियो ।

दोस्रो खेलमा पहिला ब्याटिङ गर्दै नेपालले ५८ रन बनायो । ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि इसानी वाघेलाले सर्वाधिक २४ रन बनाइन् ।

नेपालका लागि बलिङमा रिया शर्माले ४ ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । यस्तै, कप्तान पूजा महतोले तीन ओभरमा १० रन खर्चेर एक विकेट हात पारिन् ।

त्यसअघि मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ५८ रन बनायो । नेपालका लागि कप्तान पूजा महतोले २२ बलमा सर्वाधिक १० रन बनाइन् ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । यस खेलमा नेपालका तीन ब्याटर रनआउट भए ।

आउँदो शनिबारदेखि सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालले समूह चरणमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

Scroll to Top