नयाँलिपिः पोखराको पर्यटकीय आकर्षणमा पर्ने डेभिज फल्स (पाताले छांगो)को स्वामित्व विद्यालयबाट पोखरा महानगरपालिकाले लिने निर्णयपछि बढेको विवादले छांगोको मुलगेटमा ताला लागेको छ । जसकारण पोखरा आएका पर्यटक डेभिज फल्स घुम्नबाट वञ्चित भएका छन् ।
तत्कालिन नगर विकास समितिले छांगोको सञ्चालन र व्यवस्थापनको जिम्मा छोरेपाटन माविलाई दिएको थियो । तर ०७८ साउन १४ मा महानगरले स्वामित्व लिएर निजी कम्पनीलाई सञ्चालन गर्न अनुमति दिएपछि छांगो विवादमा पर्दै आएको छ ।
महानगरले निजी कम्पनी सेती क्यानोन कम्पनीलाई दिने निर्णय भएअनुसार माघ १ गतेदेखि आफै सञ्चालन गर्न जाँदा स्थानीयवासी, विद्यालय व्यवस्थापन समितिले अवरोध गरेपछि अन्ततः मुलगेटमा ताला लगाएर महानगर फर्किएको छ ।
विद्यालयले छांगोबाट वार्षिक ४ करोड ४५ लाख रुपैयाँ आय गरेको बताएको छ । जसबाट विद्यालय सञ्चालन र छांगो व्यवस्थापन गरेको बताएको छ । यहीबीच महानगरले निजी कम्पनीलाई वार्षिक २ करोड रुपैयाँमा ठेक्का लगाउने भएछि विरोध गरेको बताएको छ ।
यसमा महानगरले भने विद्यालयको आय सुनिश्चित गरिदिने भन्दै स्थानीय र विद्यालयसँग छलफल गर्न चाहेपनि सम्भव भएको छैन । महानगर सम्झौता कार्यान्वयन गरेरै छाड्ने र विद्यालय कुनैपनि हालतमा छांगोमाथिको नियन्त्रण गुमाउन नचाहँदा विवाद सतहमा आएको छ ।
महालेखा परीक्षकको ६० औं प्रतिवेदनका अनुसार विद्यालय व्यवस्थापन समितिले करवापत १३ लाख ५० हजार रुपैयाँ तिरेको छैन । अघिल्लो वर्षदेखि विवाद भएकाले कर तिर्न बाँकी रहेको व्यवस्थापन बताउँछ ।
महानगले भने विद्यालयको आर्थिक स्रोत बन्द नगरी सञ्चालन गरेरै छाड्ने बताएको छ । यस विषयमा आज महानगर र विद्यालय व्यवस्थापन एवं स्थानीयबीच सम्वादको तयारी गरिरहेको छ ।