एजेन्सी । अमेरिकाको विभिन्न ठाउँका लागेको आगोमा परि मृत्यु हुनेको संख्या २६ पुगेको छ । हजारौं भौतिक संरचनाहरु ध्वस्त भएका छन् । आगलागीबाट ३८ हजार एकड क्षेत्रफल नष्ट भएको छ ।
मौसमविद्हरूले यो हप्ता हावा अझ बलियो हुने भविष्यवाणी गरेका छन् । यसबारे दमकल विभागले चिन्ता व्यक्त गरेको छ । आगलागीमा अहिलेसम्म कम्तीमा १६ जना बेपत्ता छन् । एक्यू वेदरका अनुसार, अहिलेसम्म आर्थिक क्षति १५० अर्ब डलर पुगेको छ ।
राष्ट्रिय मौसम सेवाले ठूलो आगलागीको लागि उच्च स्तरको चेतावनी जारी गरेको छ । सेवा केन्द्रले यस क्षेत्रमा ८० किलोमिटर प्रतिघण्टासम्मको हावा चल्ने र पहाडी क्षेत्रहरूमा ११३ किलोमिटर प्रतिघण्टासम्मको हावा चल्ने अनुमान गरेको छ ।
लस एन्जलस क्षेत्रमा रहेका पालिसेड्स, इटन, केनेथ र हर्स्टमा लागेको आगोले १६० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफललाई ढाकेको छ । यो सान फ्रान्सिस्को भन्दा ठूलो क्षेत्रफल हो । प्यालिसेड्स आगो ११ प्रतिशत नियन्त्रणमा आइसकेको छ र इटन आगो २७ प्रतिशत नियन्त्रणमा आइसकेको बताइएको छ ।
दुईवटा आगलागीले १५३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको थियो । क्यालिफोर्निया र अन्य नौ राज्यका १४ हजारभन्दा बढी कामदारहरू आगो निभाउन संघर्ष गरिरहेका छन् ।
अधिकारीहरूले फैलिएको खरानीमा सिसा, आर्सेनिक, एस्बेस्टोस र अन्य हानिकारक पदार्थहरू हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।