लेखनाथ महोत्सवमा स्थानिय उत्पादनले राम्रो स्पेस पायो

santan ads

लेखनाथ । पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ ।

महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ ।

जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रर्दशनीमा विभिन्न किसिमका फलफुल तथा तरकारी, बिउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ट नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ ।

प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत समेत गरिने संघका कृषि उप–समितिका संयोजक खेमराज वरालले जानकारी दिए ।

महोत्सवमा रहेका कृषिका २४ स्टलहरु मध्ये ताजा तरकारीका ६, सुन्तला तथा फलफुलका ५, मौरी ६ र अन्य कृषिसँग सम्वन्धित स्टलहरु रहेका छन । माछाका स्टलमा बेगनासताल, रुपाताल, खास्टेताल र न्यूरेनीतालका माछाहरु संकलन गरेर विक्रिका लागी राखिएको छ । महोत्सवमा दैनीक रुपमा सरदर ५० केजी भन्दा वढि माछा बिक्रि हुने गरेको कृषि उप–समितिका सल्लाहकार दयाराम तिवारीले जानकारी दिएका छन् ।

वि स २०५८ सालमा सुन्तला प्रर्दशनीबाट शुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरुबाट ल्याईएका सुन्तलाहरु पनि दर्शकहरुले खरिद गर्न पाउनेछन ।

सुन्तलाका ५ वटा स्टलहरुमा कास्कीको पुम्दी बाग्लुङ, पर्वत र स्याङ्गजामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन । ति स्टलहरुमा दैनिक सरदर तीन सय केजी भन्दा बढि सुन्तला बिक्रि हुने गरेको छ ।

ताजा तरकारीमा स्थानिय क्षेत्रकै उत्पादनहरुको बाहुल्यता छ । लेखनाथमै उत्पादन भएका तरकारीहरुदेखी कास्कीको हेमजासम्मका उत्पादनहरु स्टलहरुमा देख्न पाईन्छ ।

विभिन्न कृषक समुह, आमा समुहहरुले स्थानिय किसानका उत्पादनहरु संकलन गरी महोत्सवमा विक्रि वितरणको व्यवस्था समेत मिलाएको पाईन्छ । सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरुले महोत्सवमा रहेका कृषि उपजका स्टलहरुबाटै सामान खरिद गर्ने गरेका छन ।

कृषि उत्पादनमा लेखनाथलाई निश्चिीत कुनै एउटा ब्राण्डको रुपमा स्थापित गर्न नसकिएको अवस्था भएपनि स्थानिय स्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रै वजार पाएका छन ।

स्थानिय तालका माछा, मह, फलफुल, ताजा तरकारी, जडिबुटि, विभिन्न स्थानिय प्रजाती जेठोबुडो, गुर्दी, घैया, मन्सरा लगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै हैन महोत्सव भित्र अवलोकन गर्न आउने र दर्शकहरुले कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरुको अवलोकन पनि गर्ने गरेका छन, यसले कृषि उत्पादनको बजारीकरण र प्रर्वद्धनमा टेवा पुर्याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रुपमा स्थापित गराएको छ ।

Scroll to Top