नयाँलिपिः आगामी फागुन ३ गते पोखरामा देशी तथा विदेशी धावकहरुको दौड हुने भएको छ । धावकहरु ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ र नेपाल भूतपूर्व खेलाडी मञ्चको ब्यानरमा आयोजित म्याराथनमा सहभागी हुनेछन् ।
विकास र चेतनामूलक नारासहित आयोजना भइरहेको म्याराथनमा यसपटक ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौँ’ भन्ने नारा दिइएको छ । आयोजक मञ्चलाई अन्य २८ उपसिमितिले सघाउनेछ ।
कूल १४ विधा रहेको दौडमा खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमि दौड, २१.०९७ किमि हाफ म्याराथन महिला/पुरुष दौड, महिला/पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन महिला/पुरुष दौड, ५० वर्ष भन्दा माथी ५ किमि भेट्रान्स महिला/पुरुष दौड हुनेछन् ।
म्याराथनको प्रथम पुरस्कार नगद रु ५, द्वितीयलाई ३ र तृतीयलाई २ लाख रुपैयाँ र सान्त्वनास्वरुप चौथोदेखि आठौंसम्मलाई नगद ३० देखि १० हजार रुपैयाँ रहेको छ ।
यसैगरी महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्र/छात्र, ह्विल चियर तथा दृष्टिविहिन पुरस्कार राशीमा समेत वृद्धि गरेको आयोजकले जनाएको छ ।
यसवर्ष पुरस्कारमामात्रै २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने जनाइएको छ भने दौड सम्पन्न गर्न १ करोड ८९ हजार रुपैयाँ अनुमानित खर्च छ ।
यस्तै, मञ्चले पहिलो पटक मासिक दौडकोसमेत आयोजना गरेको छ । यहि पौष २७ गते आयोजना हुने दौडमा ३ किमि र ५ किमि छात्र/छात्रा दौड हुनेछ ।
३ किमि छात्र/छात्रा अन्तर्गत ८ देखि १२ वर्ष उमेर समूह (कक्षा ५ सम्म) र ५ किमि अन्तर्गत १३ देखि १६ वर्ष उमेर समूह (कक्षा १० सम्म)का विच हुनेछ । ३ किमितर्फ ८ वर्ष उमेरका प्रतियोगीकाहकमा अभिभावकसहित सहभागि हुनुपर्ने मञ्चले जनाएको छ ।
- फाइल तस्बिर