सूर्यदर्शन ठगी प्रकरणः रवि पक्षधरका वकिलको बहस जारी

santan ads

नयाँलिपिः कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछाने सहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।

शुक्रबारदेखि शुरु भएको प्रतिवादीतर्फका कानून व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानूनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानून व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताए ।

यसअघि सरकारी वकिल र जाहेरवाला सहकारी पीडित पक्षका कानून व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिए लगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस शुरु भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानून व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानून व्यवसायीको बहस शुरु भएको बताए ।

“प्रतिवादी तर्फका कानून व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रो तर्फ बाट जवाफी बहस शुरु हुन्छ”, उनले भने। थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

Scroll to Top