नेविसंघ अध्यक्ष दुजाङमाथि प्रेमिकाको गम्भीर आरोप

santan ads

नयाँलिपिः नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद झनै चुँलिदै गएको छ । हाल नेविसंघका अध्यक्ष दुजाङ शेर्पा रहेका छन् । शेर्पा देउवा समूहका हुन् ।

उनै अध्यक्ष दुजाङमाथि नेविसंघकी केन्द्रिय सदस्य प्रेमिका रानामगरले आर्थिक हिनामिना गरेको र व्यक्तिगत खातामा उक्त रकम जम्मा गरेको आरोप लगाएकी छिन् । प्रेमिका शेखर पक्षधर हुन् । प्रेमिकाले फेसबुकमार्फत नेविसंघकै लेटरप्याडमा अध्यक्ष दुजाङले आर्थिक हिनामिना गरेको उल्लेख गरेकी छिन् ।

‘अध्यक्ष दुजाङ शेर्पाले २०८० कार्तिक १७ गते जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिका ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माण गर्ने जिम्मा नेविसंघले लिएको घोषणा जाजरकोटमै पुगेर गरेको स्मरण गराउँदै उक्त विद्यालय हालसम्म अलपत्र रहेको र तत्कालिन समयमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माणका लागि संकलित रकमको हिसाबसमेत सार्वजनिक नगरी व्यक्तिगत खातामा रकम संकलन गरेर आर्थिक हिनामिना भएको समेत सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ।

जय नेपाल कपको नाममा भइरहेको आर्थिक लेनदेन, चन्दा असुली रोक्न र विद्यालय पुनः निर्माणका लागि यसअघि संकलित रकमको हिसाबकिताब सार्वजनिक गरी जाजरकोटमा भूकम्पको समयमा घोषणा गरिएको क्षतिग्रस्त विद्यालय पुनः निर्माणमा जुट्न पनि उनले आग्रह गरेकी छन्।

‘सिंगो नेविसंघ केन्द्रीय कार्यसमितिलाई स्व। सरिता सिंहको स्मृतिमा जाजरकोटको नलगाडमा राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माणको कार्यमा लगाउन ध्यानाकर्षण गराउँदछौं,’ उनले भनेकी छन्।

प्रेमिकाले शुक्रबार साँझ सवा ५ बजे फेसबुकमा विज्ञप्ती सार्वजनिक गरेकी हुन् भने अध्यक्ष दुजाङले यससम्बन्धी कुनैपनि प्रतिक्रिया दिएका छैनन् । प्रेमिका नेपाली कांग्रेस इलामकी महासमिति सदस्यसमेत हुन् ।

 

Scroll to Top