नयाँलिपिः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रथम गण्डकी अधिवेशन आगाामी माघको २६ र २७ गते पोखरा हुने तय भएको छ ।
एसले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिँदै अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने बताएको छ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ४ सय ५० प्रतिनिधिको सहभागिता हुनेछ ।
५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुने एसको प्रदेश कार्यालयले जानकारी दिएको छ ।
प्रत्येक संघीय क्षेत्रबाट ३ प्रतिनिधि चयन हुँदा १ महिला अनिवार्य र ५ प्रतिनिधि चयन हुँदा १ जना उत्पीडित समुदायबाट अनिवार्य गरिएको छ । यसैगरी, प्रत्येक जिल्लाबाट १ जना मजदुरसमेत अनिवार्य रहेको एसले जनाएको छ ।
साथै, विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानेर प्रतिनिध चयन गरिनेछ । अधिवेशनमा ५० स्वयंसेवक र आयोजक गरी ६ सयजनाको सहभागिता रहने उल्लेख छ ।
अधिवेशन सम्पन्न हेतु प्रदेश अध्यक्ष एवं केन्द्रिय सचिव श्रीनाथ बरालको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ, जसलाई अन्य १२ उपसमितिले सघाउनेछन् ।
एसले आगामी चैतसम्म सबै प्रदेशको अधिवेशन सक्नुपर्ने निर्णय गरेको छ । हालसम्म कर्णाली प्रदेशकोमात्रै अधिवेशन सम्पन्न भएको छ ।
‘अधिवेशनको खर्च मागेरै चलाउँछौं’ –बराल
नेकपा एसका गण्डकी प्रदेश समिति अध्यक्ष श्रीनाथ बरालले अधिवेशनमा प्रदेशका प्रतिनिधिलगायत ६ सयजनाको उपस्थिति हुने जानकारी दिए ।
पत्रकारले प्रदेश अधिवेशनमा लाग्ने खर्चको जोहोबारे सोधेको प्रश्नमा अध्यक्ष बरालले अन्य पार्टीजस्तै आफुहरुले पनि मागेरै अधिवेशनको खर्च जुटाउने बताएका छन् । ‘४ सय ५० प्रतिनिधिसँग गेटपासस्वरुप १ हजार शूल्क लिनेछौं’ बरालले भने ‘बाँकी रकम अरु पार्टीले जस्तै सहयोग मागेर जुटाउने योजना छ ।’
बरालका अनुसार पार्टीमा आर्थिक अवस्था बलियो भएका सदस्यसँग सहयोगका लागि अनुरोध गरिने र उनीहरुबाट अपेक्षाकृत सहयोग पनि हुनेछ । यसका अलावा पार्टीका शुभचिन्तक र अन्य व्यक्तिसँग पनि सहयोगको अपेक्षा गरिएको बरालले बताए ।
‘हामी विद्रोह गरेर बनेको पार्टी हौं, सहयोगबाटै चल्नेछौं’ बराल भन्छन् ‘हाम्रो अधिवेशन तामझामकासाथ हुनेछैन, खर्चमा मितव्ययिता अपनाउछौं ।’