६३ वर्षदेखि लगातार साइकल चढेका फौदबहादुरलाई सम्मान

fishtail hospital

नयाँलिपिः ६३ वर्ष अघिदेखि निरन्तर साइकल चलाइरहेका बाटुलेचौरका ८४ वर्षका फौदबहादुर बस्नेत क्षेत्रीलाई आज साइकल सिटी पोखराले सातौं टुर दि पोखराको अवसरमा सम्मान गरेको छ ।

स्वास्थ्य, वातावरण र पर्यटन प्रर्वद्धनका लागि साइकल भन्ने मूलनारासहित साइकल सिटी पोखराले शनिबार आयोजना गरेको साइकल र्‍यालीको अवसरमा बस्नेतलाई यो उमेरसम्म पनि निरन्तर साइकल चलाउँदै आएकोमा सम्मान गरेको हो ।

बस्नेतले अहिले २६ वर्ष अघि किनेको साइकल चलाउँदै आएका छन् । ८० वर्षको उमेरमा गोडामा समस्या भएपनि चौरासी पूजा गरिसक्दासमेत उनमा साइकलप्रतिको मोह घटेको छैन ।

भारतमा ३५ वर्ष साइकल कम्पनीमा सेवा गरेका बस्नेत त्यसअघि नेपाल आर्मीमा रहँदा २०१७ सालदेखि नै साइकल चलाउन थालेका थिए ।

फौदबहादुरको साइकलप्रतिको मोहको कदर गर्दै साइकल सिटी पोखराल सम्मान गरेको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए ।

उनलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, प्रमुख प्रायोजक घरपझोङ गाउँपालिका, मुस्ताङका अध्यक्ष मोहनसिंह लालचनले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
तस्बिरः सुन्दरकुमार थकाली

Scroll to Top