रविको मुद्दा अदालतमा दर्तापछि सभामुखलाई जानकारी

कास्कीः जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा सांसद रवि लामिछानेको मुद्दा कास्की अलालतमा दर्ता गराएको संसदलाइ जानकारी गराउँदै सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ ।

जिप्रकाले संघीय संसद् सचिवालयमा पठाएको पत्रमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा सांसद लामिछाने संलग्न रहेको जानकारी गराएको हो।

लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएकाले सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पत्र पठाएको हो । पत्र प्राप्त भएपछि सभामुखले सांसद पद निलम्बन भएकोबारे प्रतिनिधिसभा बैठक चलिरहेको अवस्थामा सभामा जानकारी दिने र अधिवेशन नभएको अवस्थामा सूचना पाटीमा सूचना टाँस्नुपर्ने व्यवस्था रहेको छ ।

हाल प्रतिनिधिसभा अधिवेशन नरहेकाले सभामुखले सूचना पाटीमा सूचना टाँस्न लगाएसँगै लामिछानेको सांसद पद निलम्बन हुनेछ । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरेर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो ।

Scroll to Top