नयाँलिपिः पोखरामा बिहीबारदेखि सुरु भएको ‘फेवा डाइलग–२०२४’को दिवा सेशनमा चीनको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआइ)को चर्चा भएको छ ।
बंगलादेशको शाहजलाल विश्वविद्यालयका प्रोफेसर मोहम्मद शाहबुल हकले आफ्नो प्रस्तुतीमा बीआरआइ र लघुवित्तको संयोजनबाट बंगलादेशले गरेको प्रगति उल्लेख गरेका थिए । पावरप्वइन्ट प्रस्तुतीमार्फत उनले चीनको बीआरआईले दक्षिण एसियामात्र नभई दक्षिण पूर्वी एसियालाई नै प्रविधि र विकासमा फड्को मार्न सहयोगी सावित हुने सुनाए ।
‘बंगलादेशले कल्पना गरेको लघुवित्त र दीगो विकासको सपनालाई बिआरआइले पुरा गरिरहेको छ’ उनले भनेका छन् ‘नेपाल पनि त्यस्तै लाभ उठाउन बिआरआइमा समेटिएको छ ।’ नेपाल सन् २०१७ मै बिआरआइमा समेटिएको उनले जानकारी दिए ।
चिनियाँ छात्रवृत्तिमार्फत चीनकै बेइजिङ यूनिभर्सिटीबाट विद्यावरिधि गरेका हकले आफ्नो प्रस्तुतीमा बिआरआइमार्फत हुने लाभकाबारे अधिकांश समय खर्चिएका थिए । सुरक्षा र भूराजनीतिक कारण देखाएर भारत बीआरआइमा नजोडिएको उल्लेख गर्दै उनले भारतकै कारण भुटान पनि समावेश नभएको टिप्पणी गरे ।
हक हाल दीगो विकासमा बिआरआइले हासिल गरेको सफलताका विषयमा अनुसन्धान गरिरहेका छन् । उनको प्रस्तुति सुन्दा चिनियाँ भन्दा पनि बिआरआइबारे स्वयं जानकार भएको बुझ्न सकिन्थ्यो ।
पछिल्लो समय बंगलादेशले हासिल गरेको आर्थिक प्रगतिको ग्राफ देखाउँदै उनले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली मुलुकमा बिआरआइको वकालत गरेका थिए ।
दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक फेवा संवादको आयोजना गरिएको हो । संवाद मुलतः विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुनसक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यहरुमा केन्द्रित हुनेछ ।
संवादमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३/३ जना, भुटान, मलेसिया, सिंगापुर, इण्डोनेसियालगायतका देशबाट सहभागी छन् ।
विभिन्न शीर्षकमा हुने बहस र छलफलमा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली राष्ट्रका विज्ञहरुले आफ्ना धारणा राख्नेछन् भने त्यसउपर थप छलफल र सुझाव समटिनेछ ।
डाइलनको उद्घाटनसत्रमा नेपालका लागि चिनियाँ राजदूत चेन सङ उपस्थित थिए । उनले सहभागीलाई स्वागत गर्दै चीनलाई विभिन्न कोणबाट शक्ति आर्जन गरिरहेको सुनाउँदै दक्षिण पूर्वी एसियामा प्रभाव जमाउने घुमाउरो अभिव्यक्ति दिएका थिए । पछिल्लो समय यस क्षेत्रको भू–राजनीति द्वन्द्वले अन्य देशलाई फाइदा नपु¥याउने भन्दै नेपालमा भारतसँगै चीनपनि शक्ति केन्द्रकारुपमा स्थापित भएको उनले उल्लेख गरेका थिए ।
हाल डाइलगमा सहभागीमध्ये अधिकांश विज्ञले चीनमा शिक्षा प्राप्त गरेका छन् भने चिनियाँ नीतिलाई सघाउ पु¥याउन सक्ने व्यक्तिलाई समेटिएको छ ।
फेवा संवाद पोखरामा आयोजना भएको आजसम्मकै बृहद् र बौद्धिक अन्तर्राष्ट्रिय सम्मेलन हो । डाइलगको आयोजकमा त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालय रहेका छन् ।