नयाँलिपिः रास्वपा सभापति रवि लामिछानेविरुद्ध तयार पारिएको सहकारी ठगी र सम्पत्ति शुद्धिकरणको अन्तिम प्रतिवेदन जिल्ला प्रहरी कार्यालय, कास्कीले भोली (सोमबार) बुझाउने तयारी गरेको छ ।
जिप्रका कास्की प्रमुख एसपी श्यामबाबु ओलियाले रविविरुद्धको अनुसन्धान प्रतिवेदन तयारीमा रहेको जानकारी दिएपनि सोमबार पेश गरिने पक्कापक्की छ ।
प्रमुख ओलियाले प्रतिवेदेनको काममा टोली व्यस्त रहेको बताएपनि प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै छ । उनीविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ ।
संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् ।
जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ सम्म प्रहरीले कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने बाध्यता रहेको छ ।