काठमाडौंः जनता समाजवादी पार्टी नेपालको शुक्रबार शुरु भएको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार कार्यकारिणी समितिको बैठकले संगठन बिस्तार अभियान अत्यन्तै प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्मलाई निरन्तरता दिएको हो ।
बैठकले स्थानीय तहको उपनिर्वाचनमा मधेस प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको जनताको मत परिणाम सन्तोषजनक रहे पनि यो पर्याप्त नरहेकोले संगठन निर्माण एवं बिस्तार अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ ।
आगामी संगठनात्मक कार्यदिशाका सम्बन्धमा बैठकले पूर्वपश्चिम राजमार्गमा संगठन निर्माणको लागि विशेष सांगठनिक कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।
महाधिवेशन पछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र अद्यावधि गर्ने निर्णय गरेको छ । जसपा नेपालको पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।
यसका साथै, आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । तर तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भातृ संगठन स्वतः विघटन हुने समेत निर्णय भएको छ ।