पोखराः यही मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्व चयन हुने भएको छ । राष्ट्रबैंक चोकस्थित महासंघको शाखामा आज उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।
जसअनुसार विभिन्न खेमामा विभाजित पत्रकारहरुले प्यानल बनाएरै नामावली सार्वजनिक गरेका छन् । कास्की शाखाको अध्यक्ष पदमा माधवप्रसाद बराल र राजेन्द्र अधिकारी प्रतिष्पर्धा गर्दैछन् । बराल प्रेस चौतारी र प्रेस युनियनको संयुक्त उम्मेदवार हुन् । त्यस्तै, अधिकारीलाई प्रेस सेन्टर, समाजवादी पत्रकारलगायत संगठनको समर्थन छ ।
बराल कास्की शाखाका निवर्तमान सचिव हुन् भने अधिकारी यसअघि उपाध्यक्ष भइसकेका उम्मेदवार हुन् । चौतारी नेकपा एमाले र युनियन नेपाली कांग्रेस समर्थित पत्रकारहरुको संस्था हो ।
उपाध्यक्षमा कमल पौडेल ‘अथक’, माधवप्रसाद रेग्मी र श्रीराम सिग्देलले उम्मेदवारी दिएका छन् । अथकले युनियनको बागीकारुपमा उम्मेदवारी दिएका छन् । रेग्मी सत्ताशीन दल समर्थित हुन् भने सिग्देल विपक्षी घटकका उम्मेदवार हुन् । प्रतिष्पर्धीमध्ये १ जना विजयी हुनेछन् ।
यसैगरी, महिला उम्मेदवारको एक पदमा कञ्चन थापा र बिनाकुमारी थापा (बिनु)को उम्मेदवारी परेको छ भने सचिवमा भुपाल गुरुङ र सन्देश श्रेष्ठ प्रतिष्पर्धामा छन् । थप
पदाधिकारीतर्फ सहसचिव (समावेशी), सहसचिव, कोषाध्यक्ष र सदस्यतर्फ उम्मेदवारी परेको छ ।
साथै, प्रदेश परिषद् र केन्द्रीय परिषद् सदस्यतर्फ साढे दुई दर्जनको उम्मेदवारी परेको छ ।