काठमाण्डौंः नेपाल प्रिमियर लिग (एनपीएल)मा उपाधि दाबेदार मानिएको कर्णाली याक्सले तेस्रो खेलमा पहिलो जीत हात पारेको छ ।
कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हात पार्दा जारी लिगमा चितवनले पहिलो हार व्यहोरेको छ ।
चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्यो।
कर्णालीका लागि भारतीय ब्याटर शिखर धवनले ४५ रन जोडे। १६ औं ओभरमा लोफ्टी इटनको बलमा आउट हुनुअघि उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
धनवसँग ५१ रनको साझेदारी गरेका चाडविक वाल्टनले ३० रन जोडे। रवी बोपराको एलबिडब्लूको धरापमा पर्नुअघि उनले १९ बलमा ३ छक्का प्रहार गरे।
त्यसअघि टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १३० रनको सामान्य चुनौति पेश गरेको थियो ।