काठमाण्डौंः भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको बताए ।
‘पक्राउ पुर्जी जारी भएको छ । साइबरको काम सकिएपछि बयानका लागि हामी बोलाउँछौं,’ एसपी बोगटीले भने ।
यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेको थियो ।
फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको खुलेको थियो । फुयाँल र प्रसाईंबीच पनि सय पटकभन्दा बढी फोन कल देखिएको थियो ।
उनीहरूविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ ।