काठमाण्डौंः पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज पनि काठमाडौंस्थित जिल्ला सरकारी वकील कार्यालय पुर्याइएको छ । गत शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि उपस्थित गराइएको हो ।
लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लामिछानेमाथि कास्कीमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
यस्तै, बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकील कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायत विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।