पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०, कास्की १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मंसिरको १९ गते देखि हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासका निम्ति यो प्रतियोगिता आयोजना गरिएको बताए । प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्धमध्ये ८८ विद्यालयका करिब ४ हजार ५ सय विद्यार्थीले भाग लिन लागेको उनले जानकारी दिए । प्याब्सनमा हाल निजी तथा आवासीय गरी ९९ विद्यालय आबद्ध छन् । संस्थामा आबद्ध विद्यालयहरुमा ७५ हजारभन्दा विद्यार्थी छन् । साथै, ८ हजारभन्दा बढी शिक्षक कर्मचारी कार्यरत छन् ।
बालबालिकालाई ग्रासरुटबाटै खेलकौशल विकासमा यसप्रकारका प्रतियोगिताले निकै ठूलो सहयोग पुग्ने प्याब्सन कास्कीका प्रमुख सल्लाहकार एवं प्याब्सनका केन्द्रीय सदस्य प्रेमप्रसाद शर्माले बताए । उनले प्रतियोगिताको सभ्य र भव्यरुपमा सफलताको कामना गरे ।
स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ । तीमध्ये छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल हुनेछन् । यस्तै कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेलहरु हुने प्रतियोगिता संयोजक एवं ब्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले बताइन् । ५ दिनसम्म चल्ने प्रतियोगितामा दैनिक करिब ११ हजार विद्यार्थी, अभिभावक एवं दर्शकले खेलको अवलोकन गर्नेछन् ।
संचालन गर्न करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । आम्दानीमा विद्यालयको दर्ता शुल्क एवं विभिन्न संघसंस्थाको सहयोग नै भएको आयोजकले जनायो । च्याम्पियनले रनिङ सिल्ड जित्नेछ । विभिन्न इभेन्टका विजयीलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
प्याब्सनको खेलकुदमा लामो समयदेखि योगदान पु¥याएकोमा कर्ण गुरुङलाई विशेष सम्मान गरिने भएको छ । प्याब्सन कास्की अध्यक्ष मधुराप्रसाद पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष विष्णु तिमिल्सिना र संचालन सचिव पुष्पराज पराजुलीले गरेका थिए ।
मंसिर २३ गतेसम्म संचालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १९ गते पोखरा रंगशालामा संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नेछन् । त्यसअगावै पोखराका अन्य ५ खेलकुद मैदानमा फुटबललगायतका खेल सुरु हुनेछन् । प्रहरी गुल्म, प्रहरी गण, पोखरा १४ स्थित रामेश्वरी स्कुल, शान्तिदीप स्कुल र मसिनास्थित नवप्रतिभा क्लबको खेल मैदानमा प्रतियोगिता सुरु हुने छन् ।
शुक्रबारमात्रै हिसान कास्कीले स्पोर्टस् मिट सम्पन्न गरिसकेको छ भने एन–प्याब्सान पनि स्पोर्टस् मिट तयारीमा जुटेको छ ।