जरिवानापछि एमाले महासचिवको आरोप – ‘बालेन एमालेविरुद्ध परिचालित’

-


     नयाँ लिपि    
     मंसिर ८ गते २०८१ मा प्रकाशित


काठमाडौँः नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित रहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले बालेन एमालेविरुद्ध परिचालित भएको शुक्रबारको सभा पछि काटेको जरिवाना पर्चाबाट बुझ्न सकिने बताएका हुन् ।

उनले सञ्जालमा लेखेका छन्ः

काठमाण्डौं महानगरका मेयर वालेन नेकपा (एमाले)विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो ।

अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो ।

तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो । नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई ।
जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।