पोखरा । पोखराको लेकसाइडमा बालिकाहरुलाई जबरजस्ती यौनकार्यमा लगाउने तीन जना युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोर्खा पालुङ्टार नगरपालिका वडा नं ४ घर भई हाल पोखरा-६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षकी ममता तामाङ, मकवानपुरकाे बाग्मती गाउँपालिका वडा नं ८ घर भई हाल काठमाडौं बुढानीलकण्ठ-७ कपन बस्ने २३ वर्षकी रीना तामाङ र नवलपुरको मध्यबिन्धु नगरपालिका-१० स्थायी घर भई हाल पोखरा-६ लेकसाईड बस्ने १९ वर्षकी जस्मिन ठकुरी छन् ।
बिहीबार राति १० बजे पोखराको लेकसाइडस्थित होटल स्नोल्याण्डको भिसा युथ होटलको कोठाहरुमा राखेर चार बालिकाहरुलाई जबरजस्ती यौनकार्यमा लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले बालिकाहरुको उद्दार गरेको थियो ।
प्रहरीका अनुसार बालिकाहरुलाई विभिन्न प्रलोभन देखाई कोठा बाहिरसमेत निस्किन नदिई परपुरुष व्यक्तिसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याइएको बताएका थिए ।
उनीहरु तिनै जनाबिरुद्ध मानव बेचविखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी मुद्दामा अदालतबाट पाँच दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।