वान डे क्रिकेट : अरण्यज्योत ७६ रनले विजयी

-


     नयाँ लिपि    
     कार्तिक ६ गते २०८१ मा प्रकाशित


पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय वान डे क्रिकेट प्रतियोगितामा अरण्यज्योति त्रिकेट क्लब ७६ रनले विजयी भएको छ । अरण्यज्याति क्रिकेट क्लबले गण्डकी स्पोर्टस क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको हो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय वान डे क्रिकेट च्याम्पियनसिप २०८१’ को समूह सि तर्फको खेलमा १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो । गण्डकीका लागि ओपनर सिद्धान्त गिरिले २२ रन र अजय रामले १९ रन बाहेक अन्यले खासै रन बनाउन सकेनन् । सिद्धान्तले १६ बलमा ५ चौका प्रहार गरे भने अजयले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

विवेक अधिकारी २, सम्राट अधिकारी १, दिपक माझी १, श्री राम २ र विमोचन सापकोटा, सौरभ शर्मा र सुस्मानी गौतम शुन्यमै पेभेलियन फर्किए । अरण्यज्योतीका लागि सोमबहादुर थापाले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । प्रविण पौडेलले ५ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । अब्दुल मिया, प्रदिप पौडेल र कल्याण कुमालले १÷१ विकेट लिए ।

टस जिटेर ब्याटिङ थालेको अरण्यज्योतीले ३८.६ ओभरमा १३६ बनाउदै अलआउट हुन पुगेको थियो । जितका लागि सुलभ सुवेदिले ४० रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले १०६ बलमा २ चौकाको मद्धतमा ४० रन बनाए । ओपनर कल्याण कुमाल ८ रनमा, अंकित गजुरेल १०, प्रविण पौडेल २३, प्रदिप पौडेल २०, सन्देश निउरे ३, धन्जु यादव ८, प्रीजन श्रेष्ठल ८, सोमबहादुर थापा १ र अब्दुल मिया ८ रनमा आउट भए । प्रसानी अधिकारी ७ रनमा नटआउट रहे ।

गण्डकीका लागि सिद्धान्त गिरिले १० ओभरमा ५० रन खर्चदै सर्वाधिक ४ विकेट लिए । यस्तै अजय राम र सुमन अधिकारीले २/२ तथा विमोचन सापकोटा र सुस्मान गौतमले १/१ विकेट लिए । समूह सि मा गण्डकी २ खेलमा दुबै हारसंगै अंकविहिन हुँदै बाहिरिएको हो । समूह सि मा अरण्यज्योती र राइजिङ पोखरा क्रीकेट क्लबको सेमिफाइनल सम्भावना कायमै रहेको छ । दुबैको १/१ खेलबाट समान २ अंक छ । १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ ।