पहिरोले एकेडेमीका ६ बालकको मृत्यु,अन्यको उद्दार

-


     नयाँ लिपि    
     असाेज १२ गते २०८१ मा प्रकाशित


मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको मृत्यु भएको छ ।

सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए । उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

उनका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो । बत्सलादेवी माविमा एन्फाले गत वर्षदेखि फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो ।

उक्त एकेडमीमा ४० बालकहरुले प्रशिक्षण लिइरहेका थिए ।

जिवित रहेका ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिए ।