पो.उ.वा.संघ चुनाव: पोखराको सर्वेश्वर व्यवसायीको प्रतिबद्धता

-


     नयाँ लिपि    
     भाद्र २६ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको चुनावमा आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने प्रतिबद्धता जनाएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २८ र २९ गते हुन गइरहेको ३५ औं महाधिवेशनमा सर्वेश्वर व्यवसायी समितिमा आबद्ध उम्मेदवारहरुको ‘परिचय कार्यक्रम तथा जिताऔं अभियान’मा अधिकांश व्यवसायी उपस्थित भएर यस्तो प्रतिबद्धता जनाएका हुन् ।

एक पटक नेतृत्व लिएर ईतिहास बनाइसकेको सर्वेश्वरले फेरी त्यो ईतिहास दोहो¥याउनका लागि नेतृत्व तयार गर्दै जानपनि यस पटक उम्मेदवार भएका चारै जनालाई जिताउने उनीहरुको प्रतिबद्धता छ । यसअघि सर्वेश्वर व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोईरालालाई जिताईसकेका छन् ।

यसपटक संघको चुनावमा सर्वेश्वर व्यवसायीहरुको तर्फबाट सर्वेश्वर व्यवसायी समितिका सल्लाहकार तथा आजिवन सदस्य प्रेमप्रसाद सुवेदी, आजिवन सदस्य तथा पूर्व पदाधिकारी लेखनाथ सुवेदी, आजिवन सदस्य तथा पूर्व पदाधिकारी यादवप्रसाद पोख्रेल र आजिवन सदस्य तथा शुभचिन्तक टिकाराम सुवेदी (माधव) सदस्य पदका उम्मेदवार छुन् ।

संघको चुनावमा प्रेमले क्रम संख्या (६), यादवले (१०), टिकारामले (२) र लेखनाथले १३ पाएका छन् ।

मंगलबार साँझ आयोजित कार्यक्रममा चारैजना उम्मेदवारहरुले आफूहरु सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरुको साझा उम्मेदवार भएको बताए । सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरु आफूहरुको परिवार भएकाले एकमत, एकसाथ भएर मतदान गर्न आग्रह गरे । एउटै क्षेत्रबाट चारजना उम्मेदवार भएपनि व्यवसायीको मुद्धामा चारैजनाको स्वर एउटै भएको बताउँदै उनीहरुले भने,‘संघमा निर्वाचित भएपछिपनि हाम्रो एकता र स्वर एउटै हुन्छ । विभाजित हुँदैनौं ।’

दोश्रो पटक सदस्य पदमा दोहोरिन उम्मेदवार बनेका प्रेमप्रसाद सुवेदीले व्यवसायीको राय, सुझाव लिएर आफू अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने,‘म तपाईंहरुको साझा उम्मेदवार हुँ, यहाँहरुको राय, सुझाव लिएर व्यवसायीका समस्या समाधानका लागि संघ र व्यवसायीबीच पुल बनेर काम गर्छु ।’

अर्का उम्मेदवार यादवप्रसाद पोखरेलले अघिल्लो पटक बेहोरेको हारलाई जितको शुरुवात मानेर फेरी उम्मेदवार बनेको बताए । आफूमा व्यवसायीको पक्षमा काम गर्ने हुटहुटी रहेको भन्दै एकपटक मत दिएर आफूलाई परीषण गर्न आग्रह गरे । ‘व्यवसायीका समस्या समाधानका लागि आवाज बुलन्द गर्नेछु’–उनले भने ।

वर्तमान कार्यसमितिमा मनोनित सदस्यका रुपमा रहेर एक कार्यकाल गुजारेका टिकाराम सुवेदी (माधव)ले आफूले संघको बैठकमा बारम्बार व्यवसायीका मुद्धा उठाएको बताए ।

सर्वेश्वर परिवारको साथ पाएर आफू उत्साहित भएको बताउँदै उनले भने,‘हाम्रो जित सुनिश्चित छ । जितेपछि तपाईंहरुको गुनासा तथा समस्या समाधानका लागि काम गर्नेछु ।’

अर्का उम्मेदवार लेखनाथ सुवेदीले संघ र व्यवसायीबीच समन्वय गरेर व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । सर्वेश्वर परिवारको मतमात्रै नभई अन्यसँग मत मागेर जिताउन उनले आग्रह गरे ।

सर्वेश्वर व्यवसायीहरुले पोखरामा घरबहाल कर, पार्किङ, फुटपाथ क्लियर, फुटपाथ व्यापारीको व्यवस्थापन, ठेला तथा पोका बोकेर घरघरमा पुग्ने खुद्रे व्यापारीको व्यवस्थापनलगायत समस्याका रुपमा रहेकाले त्यसको समाधानका लगि नेतृत्वदायी भूमिका खेल्न सुझाव दिए ।

कार्यक्रममा बोल्दै सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले ईतिहास दोहो¥याउन आफूहरु तयार रहेको बताए । हामीले सर्वेश्वरको एकता र त्यसले दिने परिणाम हासिल गरेर इतिहास निर्माण गरिसकेका छौं,उनले भने,‘अब फेरी चारै जना हाम्रा उम्मेदवारहरुलाई जिताएर नया नेतृत्वा जन्माउँदै ईतिहास दोहो¥याउन व्यवसायी साथीहरुलाई अपिल गर्दछु ।’

समितिका सल्लाहकार तथा पूर्व अध्यक्ष धर्ममानसिंह भण्डारीले आफ्ना उम्मेदवारहरुलाई जिताएर सर्वेश्वर नेतृत्व जन्माउने कारखाना हो भन्ने बनाउन व्यवसायीहरुलाई आग्रह गरे । यसो गर्न सके सर्वेश्वर–पराजुली मार्गका व्यवसायीको शान, मान र सम्मान बढ्ने उनको भनाई थियो । ‘त्यसैले उम्मेदवारहरुको अनुहारमा आफू देखेर एकछापे मत हालौं’–उनले भने ।

समितिका सल्लाहकार नरहरी अधिकारीले व्यवसायीको आवाज बुलन्द गर्न सर्वेश्वरमा आबद्ध उम्मेदवारहरुलाई जिताउनै पर्नेमा जोड दिए ।

समितिका निवर्तमान अध्यक्ष बालकृष्ण भण्डारीले आफूहरु जिताउन तयार रहेको तर जितेपछि विभाजित नभई चारैजनाको स्वर एउटै बनाउन आग्रह गरे ।

समितिका बरिष्ठ उपाध्यक्ष छविलाल गौतम र महासचिव विशाल अधिकारीले टाढाको देवता भन्दा नजिकको ढुंगा नै काम लाग्ने भन्दै आफ्ना उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण व्यवसायीहरुलाई अपिल गरे ।

सर्वेश्वर र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण सामान, काँचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा पाईन्छ ।

होलसेल तथा खुद्रा दुवै व्यापार हुने यी दुई मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुमसम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको वरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले जानकारी दिए ।

समितिले सर्वेश्वर–पराजुली मार्गमा व्यवसाय ब्राण्डिङ गर्ने उद्देश्यले चाँडपर्व लक्षित कार्यक्रमसमेत आयोजना गर्दैछ । समितिले एक महिनासम्म दसैँ उत्सव गर्न लागेको हो । सो बेला सर्वेश्वर र पराजुली मार्ग छिर्ने सबैतिरका गेटमा प्रवेशद्वार बनाउने, बजार क्षेत्रलाई सजिसजाउ र झकिझकाउ बनाउने, झिलीमिली बत्ती बालेर दुलहीझैँ सिंगारिने समितिले जनाएको छ ।

त्यस्तै दसैँ उत्सवमा किनमेल गर्ने ग्राहकका लागि बम्पर उपहार योजना सञ्चालन गरिने, सामान खरिदमा कुपन दिइने र चाडपर्व सकिएपश्चात् चिट्ठा खोलिने योजना रहेको अध्यक्ष थापाले बताए । बम्पर उपहारमा स्कुटर, ल्यापटप, साइकल, मोबाइल र ४ जनालाई ५÷५ हजार सान्त्वना स्वरूप दिईने उनले जानकारी दिने भए ।