जसपाको गण्डकीमा संगठन निर्माण अभियान,५५ जनाले पार्टी प्रवेश

-


     नयाँ लिपि    
     भाद्र २६ गते २०८१ मा प्रकाशित


पोखरा । जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशमा संगठन निर्माण अभियान थालेको छ ।

पार्टीको केन्द्रिय सर्कुुलेसन अनुुसार गण्डकी प्रदेशमा आधारभुत संगठन निर्माण अभियानको सुुभारम्भ गरेको हो । पोखरा १० उत्तमचोकमा भएको उक्त कार्यक्रममा ५५ जनाले पार्टी प्रवेश गरेका छन् ।

पार्टीका सह–अध्यक्ष तथा रकम चेम्जोङले संगठन विस्तारको कार्यक्रम अघि बढेको बताए । पछिल्लो समय ठुला दलप्रतिको वितृस्णा र उनीहरुको कार्यशैलीका कारण जनता आजित भएकाले अब नयाँ बैकल्पिक पार्टी रोज्ने कार्य सुरु भएको उनले सुनाए ।

पार्टीले हाल कांग्रेस–एमाले सरकारलाई समर्थन गरेको र नराम्रो काम गरेमा तत्कालै समर्थन फिर्ता लिने समेत बताए । विशेष गरि पार्टीले संविधान संशोधनको विषयलाई लिएर समर्थन गरेको उनको भनाइ छ । जसपाको मुुल एजेण्डा नै निर्वाचित राष्ट्र प्रमुख हुनुपर्ने रहेको छ ।

पुर्व विज्ञान प्रविधि मन्त्री तथा केन्द्रिय उपाध्यक्ष शिवलाल थापाले आम नागरिक निर्वाचनमा सहभागि हुन निकै असहज भएकाले समानुपातिक निर्वाचन प्रणाली हुनुुपर्नेमा जोड दिए ।

संघ र प्रदेशका लागि पार्टीगत रुपमा निर्वाचनमा जानुपर्ने र स्थानीय तहमा भने पार्टीगत जान नहुने उनले बताए ।

‘हामीले राष्ट्र प्रमुख वा कार्यकारी प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनुुपर्छ भनेका छौं । संविधान संशोधन हाम्रो पनि माग हो’ उनले भने, ‘अहिले संघीयताको नाममा केन्द्रकृत मानसिकता कायमै छ । प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्राप्त गरेका छैनन् ।’ संघीयता असफल बनाउन केही तत्वहरु लागिरहेको र त्यसलाई चिर्न आवश्यकता रहेको उनले सुनाए ।

सोही क्रममा समाजवादी युवा संघ गठन समेत गरिएको छ । भगवान श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय संघ गठन भएको हो । मधुकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवलाल थापा, केन्द्रिय सदस्य देव बहादुर दुरा लगायतले बोलेका थिए ।