पोखरा । ११औं संस्करणको मिस पोखरा ‘२०२४’ को प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्ने भएको छ । इभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङ र पब्लिक फोरकेका प्रबन्ध निर्देशक मन क्षेत्रीले बुधबार असोज १७ गते हुने ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता गरेका हुन् ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले स्थापना भएको छोटो समयमै प्रतिष्ठित इभेन्टसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । इभेन्ट फर यूका अध्यक्ष गुरुङले टेलिभिजनसँगको सहकार्यले इभेन्टको गरिमा अझै बढ्ने विश्वास व्यक्त गरे ।
इभेन्ट फर यू प्रालिको इभेन्ट म्यानेज्मेण्ट र पोखरा जेसीजको आयोजनामा मिस पोखरा २०२४ हुन लागेको हो । प्रतियोगिता युवा नारीहरुको आत्मविश्वास बढाउने र उनीहरुको नेतृत्व क्षमतामा निखार ल्याउन एक महत्वपूर्ण प्लेटफर्म हुने आयोजकको भनाइ छ ।
मिस पोखराका लागि फर्म वितरण खुला छ । सहभागी हुन चाहने इच्छुकले असोज २ सम्म नाम दर्ता गर्न सक्नेछन् । कक्षा १२ उत्र्तीण गरेका १७ देखि २५ वर्ष उमेर समूहका अविवाहित नारी
प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ । असोज ३ गते अडिसन हुनेछ भने ग्राण्ड फिनाले १७ असोजमा हुनेछ ।
विजेताले ताज, स्कुटर, ५० हजार रुपैयाँ तथा आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् । फस्ट रनर अपले ताज, ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर र सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्ने आयोजकले जनाएको छ ।
मिस पोखराले प्रतियोगिता युवा नारीहरुको आत्मविश्वास बढाउने र नेतृत्व क्षमतामा निखार ल्याउन एक महत्वपूर्ण प्लेटफर्म भएको मिस पोखरा २०१८ की विजेता सारा बजिमयले बताइन् । उनले मिस पोखरा २०२४ मा सहभागी हुन आग्रह गरिन् ।
मिस पोखराको प्रमुख इभेन्ट पार्टनरको रुपमा आभ्या क्लव घारीपाटन छन् । क्लबकी कार्यक्रम संयोजक कृपा श्रेष्ठले मिस पोखरा सँगको विशेष सम्बन्धलाई अझ सुदृढ गर्दै प्रतियोगितालाई उत्कृष्ट बनाउने उद्देश्य रहेको उल्लेख गरिन् ।