लामाचौर महोत्सव सम्पन्न

-


     नयाँ लिपि    
     भाद्र २१ गते २०८१ मा प्रकाशित


पोखरा । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव सम्पन्न भएको छ ।

संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन

शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’ गाउँदा होस् वा सम्झना ‘बत्ती बाल्नै पर्दैन यो गाउँमा’ गाउँदा दर्शक छमछमी नाचेर साथ दिए ।

२० टिमले भाग लिएको अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगितामा सक्षम अभियान नेपाल प्रथम भयो । लामाचौरको शिवालय तमु समाज दोस्रो, महिला स्वास्थ्य स्वयंसेविका समाज तेस्रो र महिला समाज कल्याण आमा समूह सान्त्वना भए ।

प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार प्रदान गरिएको संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए ।

अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल प्रथम भएको छ । प्रगति इङ्लिस बोर्डिङ दोस्रो तथा सरस्वती विद्याश्रम तेस्रो भयो । रिभरडेल बोर्डिङ, बेसलाइन एकेडेमी र अल्फा इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भए ।

गुरुकुल विद्यासदनले उत्कृष्ट भेषभूषाको पुरस्कार जितेको छ । लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ४०, २५, १५ र ५ हजार पाए ।

उत्कृष्ट भेषभूषा प्रस्तुत गर्ने गुरुकुलले ५ हजार जितेको प्रचार संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा राखिएका औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलमा पनि किनमेलको उस्तै भीड थियो । आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ ।

आयोजकले ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुलीलगायतलाई उतारेको हो ।

यस्तै, शिक्षा, युवा उद्यमशीलता विकास र खेलकुद क्षेत्रमा योगदान दिनेलाई सम्मानित भए । सम्मानित हुनेमा सामुदायिक विद्यालयको विकासमा अतुलनीय योगदान दिएकोमा मिलन केसी (शिक्षातर्फ), कञ्चन क्यापिटलका संचालक विमल गुमाजू (युवा उद्यमशीलतातर्फ) र महिला राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाही (खेलकुदतर्फ) छन् । उनीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापालगायतले सम्मानित गरेका थिए ।

संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा प्रथम उपाध्यक्ष एवं प्रचार संयोजक दिनेश भण्डारीले स्वागत र कार्यक्रम सन्चालन सचिव हरिबहादुर थापा र सहसचिव शोभा बानियाँ ले गरेकी थिईन । तस्विर : योगेन्द्र श्रेष्ठ