लामाचौर भलिबलको उपाधि एपिएफलाई

-


     नयाँ लिपि    
     भाद्र २१ गते २०८१ मा प्रकाशित


पोखरा । लामाचौर कप भलिबल महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ ।

नव आदर्श सामुदायक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि जितेको हो ।

पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६–९ बाट २०–९ को स्थितिमा पुुगेको थियो ।

त्यसपछि डायमण्डले २५–१३ को जित हासिल गर्दै खेलमा फर्कियो । चौथो सेटमा भने एपिएफले पुनः लय समात्दै २५–१० ले हराउँदै उपाधि चुमेको हो ।

यस अघि लिगचरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै तालिकाको शीर्षस्थानमा पुुगेको थियो ।

उपाधिसँगै एपिएफले नगद रु एक लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता न्यु डायमण्डले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ । डायमण्ड गतवर्षको समेत उपविजेता हो ।

प्रतियोगितामा एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर बने । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए । एपिएफकी पुजा चौधरीले मस्ट भ्यालुयबल प्लेयरको उपाधि चुमिन् ।

प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो हुँदै एभरेष्टले ५० हजार एक सय ११ रुपैयाँ हात पारेको छ । एभरेष्टले २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो ।

यस्तै पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमै हराउँदै तेस्रो स्थान हासिल गरेको छ ।

यस अघि लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३–२ सेटमा हराएको थियो । गलकोटले २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ५० हजार एक सय ११ रुपैयाँ प्राप्त ग¥यो ।

भदौ १९ गतेदेखी चलेको प्रतियोगिताको महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको थियो । लिगका दुई शिर्षटिम फाइनलमा प्रवेश गरेको थियो । गतवर्ष महिलातर्फ पुलिस र पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको थियो ।

आज नै भएको पुरुषतर्फ विभागीय डर्वी नेपाल पुलिस र एपिएफ बिच भएको फाईनल खेल एक एक सेट बराबरीमा लाइट प्रोटेस्टका कारण स्थगित भएको र फाईनल खेल भोलि शनिबार हुने आयोजकले जनाएको छ ।