लामाचौर कप: महिलातर्फ न्यु डायमण्ड शीर्षस्थानमा

- डायमण्ड र एपिएफ यस अघि नै फाइनलमा प्रवेश गरिसकेको छ

-


     नयाँ लिपि    
     भाद्र २० गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफलाई हराउँदै टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब शीर्षस्थानमा उक्लिएको छ ।

नव आदर्श सामुदायिक समाजको आयोजनामा इन्द्रराज्य लक्ष्मी खेल खेल मैदानमा जारी लिगको अन्तिम खेलमा एपिएफलाई सोझो सेटमा हराउँदै शीर्षस्थान हासिल गरेको हो ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।

डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो ।

राउन्ड रोविन लिगको आधारमा भएको खेलमा कुल चार टिमका सहभागिता रहेको थियो । शीर्ष दुई टिम सोझै फाइनल खेल्ने तालिका अनुसार डायमण्ड र एपिएफ यस अघि नै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरिसकेका थिए ।

लिगको अन्तिम खेलको रुपमा रहेको यी दुई बिचको खेल फाइनल अघिको प्रशिक्षण सरह मानिएको छ । दुबै टिमले फाइनल अघि एक अर्काको रणनीतिलाई बुझ्ने अवसर पाएका छन् ।

एपिएफले आफ्नो बेन्चमा रहेका खेलाडीलाई कोर्टमा उतारेको थियो । उता डायमण्डले पनि बेन्चका खेलाडीलाई अवसर दिएको थियो ।
हारपश्चात एपिएफ दोस्रो स्थानमा रह्यो ।

एपिएफको कुल ३ खेलबाट ६ अंक रह्यो । एपिएफले लिग चरणमा एभरेष्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो ।

यस्तै आजै भएको प्रतिष्ठाको खेलमा एभरेष्टले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि नतिजा भने एभरेष्टको पक्षमा २६–२४ रह्यो । दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ ले हराउँदै एभरेष्टले जित हासिल गरेको हो । यो संगै एभरेष्टले ३ खेलमा दुइ जित एक हारसहित ३ अंक जोड्दा ३ खेलमै हार व्यहारेको गण्डकी अन्तिममा रह्यो ।

यता पुरुषतर्फको खेलमा भने विभागीय डर्वी फाइनलमा प्रवेश गरेका छन् । नेपाल पुलिस र एपिएफ एक खेल अगावै फाइनल प्रवेश गरिसकेका छन् । एपिएफल र पुलिस पनि शिर्षस्थानमा को रहने भन्नेमा प्रतिष्पर्धा गर्नेछन् भने, फाइनल अघि यि दुईको पनि प्रशिक्षण खेल सरह नै रहने छ ।