लामाचौर कप : महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित

-


     नयाँ लिपि    
     भाद्र १९ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ  ।

महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण रोकिएको छ ।

पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको महिलातर्फको खेलमा डायमण्डले गण्डकीलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेटमा २५-१३ ले हराएको डायमण्डले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।

विहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण निकै ढिला गरि सुरु भएको थियो । दुइ खेलबाट डायमण्डको स्पष्ट ६ अंक छ । डायमण्डले यस अघि एभरेष्ट भलिबल क्लबलाई ३-० कै सोझो सेटमा हराएको थियो ।

दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई ३-० कै सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५-१० र दोस्रो सेट २५-११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टलाई २५-१३ ले हराउँन सफल भएको हो । यो संगै एपिएफको पनि स्पष्ट ६ अंक छ । गण्डकी र एभरेष्ट भने अंक विहिन रहेका छन् ।

चार टिम सहभागि प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको छ । लिगका अनितम खेलहरु भोलि हुनेछन् । एपिएफ र डायमण्डले फाइनलको यात्रा सुरक्षित गरिसकेका छन् ।

पुरुषतर्फ भएको खेलमा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३-० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५-१२, दोस्रो सेटमा २५-१७ र तेस्रो सेटमा २५-२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको ६ अंक छ ।

पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो ।
दिनको अन्तिम खेलमा गण्डकी र एपिएफ प्रतिस्पार्धा गर्दैगर्दा दोस्रो सेट सकिदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १-१ सेट जितेका थिए ।

गण्डकीले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९-२५ ले गुमाएको थियो । विहान वर्षा भएपछि खेल ढिला गरि सुरु हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शंकर केसीले जानकारी दिए ।

राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा स्थगित एपिएफ र गण्डकीको खेल भोलि हुनेछ । यस्तै लिगका अन्य बाँकी खेल समेत भोलि नै हुने केसीले जानकारी दिए । प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार-चार टिमको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

मंगलबारदेखी प्रतियोगिता सुरुभएपनि औपचारि उद्घाटन भने आज (बुधबार) भएको थियो । गण्डकी प्रदेशका डिल्लीराज भट्टले रेफ्रीलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका थिए । यस्तै रेफ्री संयोजक टहलसिंह थापा, नेपाल पुलिसकी खेलाडी विनिता बुढाथोकीले सपथ ग्रहण गरेकी थिइन् ।

भोलीको खेलः महिलातर्फ – एभरेष्ट विरुद्ध गण्डकी, न्यु डायमण्ड विरुद्ध एपिएफ त्यस्तै पुरुषतर्फ – गण्डकी विरुद्ध गलकोट र पुलिस विरुद्ध एपिएफको बिच रहने छ ।